म्याग्दी । यहाँका किसानहरुले आफ्नो बगैचामा फलाएको सुन्तला बेचेर करिव ४ करोड रुपैयाँ गाउँ भित्र्याएका छन । यो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खवर हो ।
अन्नपूर्ण गाउँपालिका कृषि शाखाका प्राविधिक सम्झना खत्रीले पालिका भित्रबाट यस वर्ष रु तीन करोड ८८ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको जानकारी दिनुभयो। शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण संकलन गरेर यो रिपोर्ट निकालेको हो ।
पालिकाको वडा नम्बर १ दोवामा रु ७० लाख, वडा नम्बर २ भुरुङ–तातोपानीमा रु ३९ लाख, वडा नम्बर ३ दानामा रु २१ लाख, वडा नम्बर ४ नारच्याङमा रु १० लाख, वडा नम्बर ६ घारमा रु ६० लाख र वडा नम्बर ७ हिस्तान दोसल्ले र औलामा रु एक करोड ८८ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको खत्रीले बताउनुभयो ।
दुई सय जनाभन्दा बढी किसानले न्यूनतम रु ५० हजारदेखि रु २० लाख मूल्यबराबरको सुन्तला बिक्री गरेका छन् । सबैभन्दा बढी दोसल्लेका किसान विकास श्रेष्ठले रु २० लाखको सुन्तला बिक्री गर्नुभएको छ ।
अन्नपूर्णका किसानले म्याग्दीमा सबैभन्दा पछि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका थिए । फागुन २ गतेसम्म सुन्तला टिपेर बजार पठाएका हुन् । गत वर्षको तुलनामा ४० प्रतिशत कम उत्पादन भए पनि दोब्बर मूल्य पाउँदा आम्दानी बढेको दोसल्लेका कृषक श्रेष्ठले बताउनुभयो।
दोसल्लेका किसानले प्रतिकिलोग्राम रु २०० सम्म सुन्तलाको मूल्य हात पारेका छन् । सुन्तला अन्नपूर्ण गाउँपालिकाको प्रमुख नगदेबाली हो । यहाँ आलुपछि धेरै बिक्री हुने कृषिबालीमा सुन्तला रहेको छ । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले सुन्तला बगैँचा विस्तार र व्यवस्थापनका लागि किसानलाई सहयोग गरिएको बताउनुभयो ।
प्रतिक्रिया