logo
  • २६ कार्तिक २०८३, बुधबार | Wed, 11 Nov 2026
  • विपद्पछिको पुनःस्थापनाका लागि म्याग्दीलाई २ करोड ४० लाख प्राप्त

    • myagdipress myagdipress
    • ११ कार्तिक २०८३ मंगलवार
    विपद्पछिको पुनःस्थापनाका लागि म्याग्दीलाई २ करोड ४० लाख प्राप्त

    म्याग्दी । बाढीपहिरोबाट प्रभावित म्याग्दीका ६ वटै स्थानीय तहलाई पुनर्निर्माण तथा पुनःस्थापनाका लागि नेपाल सरकारले २ करोड ४० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत प्रत्येक स्थानीय तहलाई ४० लाख रुपैयाँका दरले अनुदान पठाइएको हो ।

    गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरो र नदी कटानबाट भएको क्षतिका आधारमा म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको थियो ।

    प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार विपद्बाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिमृतक २ लाख रुपैयाँ र पूर्णरूपमा विस्थापित परिवारलाई मासिक १५ हजार रुपैयाँका दरले तीन महिनासम्म राहत उपलब्ध गराइनेछ । मृतकका परिवारलाई स्थानीय तहमार्फत राहत वितरण गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट सोधभर्ना गरिनेछ ।

    बाढीपहिरोका कारण जिल्लामा सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् तथा सञ्चार संरचनामा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार विपद्मा परी सात जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् । एक सयभन्दा बढी घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने ९५ घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै, करिब २५० घर उच्च जोखिममा रहेका छन् ।

    सरकारले विपद् प्रभावित क्षेत्रको वर्गीकरणअनुसार २० लाख, ३० लाख र ४० लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ । म्याग्दीका सबै स्थानीय तहलाई संकटग्रस्त क्षेत्रमा समेटिएकाले समान रूपमा ४० लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको हो ।



    myagdipress myagdipress    
  • ११ कार्तिक २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP