logo
  • २६ कार्तिक २०८३, बुधबार | Wed, 11 Nov 2026
  • बाढीपहिरोले अवरुद्ध म्याग्दीका सबै क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन

    • myagdipress myagdipress
    • ११ कार्तिक २०८३ मंगलवार
    बाढीपहिरोले अवरुद्ध म्याग्दीका सबै क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन

    म्याग्दी । बाढीपहिरोले विद्युत् संरचनामा क्षति पु¥याएपछि अन्धकारमा रहेका म्याग्दीका प्रभावित बस्तीमा पुनः बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरणले क्षतिग्रस्त संरचनाको मर्मत र वैकल्पिक व्यवस्था गरेर जिल्लाका सबै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सञ्चालनमा ल्याएको हो ।

    सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा शनिबारदेखि विद्युत् सेवा सुरु भएको छ । पाउद्वारसहित गिवाङ र किन्दु क्षेत्रमा विद्युत् पु¥याउन प्राधिकरणका कर्मचारी तथा मजदुरले दसैँको समयमा समेत काम गरेका थिए ।

    बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीका अनुसार कतिपय स्थानमा पुराना संरचना मर्मत गर्नुको सट्टा वैकल्पिक मार्ग र संरचनाबाट विद्युत् आपूर्ति गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको राम्चे र हिस्तानमा पर्वतको जलजला गाउँपालिका–५, लेकफाँटतर्फबाट विद्युत् पु¥याइएको छ । पाउद्वारमा हेलिकप्टरबाट ल्याइएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट आपूर्ति व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

    बाढीपहिरोले प्राधिकरणका ३३ र ११ केभीका प्रसारण तथा वितरण लाइनका करिब २५० पोल र तारमा क्षति पु¥याएको थियो । क्षतिग्रस्त संरचनाबाट करिब एक करोड ५० लाख रुपैयाँ बराबरको नोक्सानी भएको गामीले जानकारी दिनुभयो ।

    हाल विद्युत् सेवा सञ्चालनमा आए पनि संरचनाको थप मर्मत गरी आपूर्तिलाई नियमित र व्यवस्थित बनाउने काम बाँकी रहेको प्राधिकरणले जनाएको छ । विद्युत् सेवा पुनः सञ्चालन भएपछि प्रभावित बस्तीका बासिन्दालाई दैनिक कामकाजमा सहज भएको छ ।

    बेनी वितरण केन्द्रअन्तर्गत म्याग्दीका साथै पर्वतको जलजला गाउँपालिकाका मल्लाज र वारीबेनी क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ । यस केन्द्रमा २४ हजार ४९० ग्राहक छन् । तातोपानी वितरण केन्द्रले अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर १ देखि ४ सम्म र मुस्ताङ जिल्लामा विद्युत् सेवा उपलब्ध गराउँदै आएको छ ।



    myagdipress myagdipress    
  • ११ कार्तिक २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP