म्याग्दी। भोटेकोशी–त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि म्याग्दी उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको विपद् कोषमा एक लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य सुविन श्रेष्ठले उक्त रकम महासंघका अध्यक्ष अञ्जन श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो।
महासंघले जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत एवं एसोसिएट सदस्य, स्वदेश तथा विदेशमा रहेका कम्पनी र विभिन्न देशका व्यावसायिक संस्थाबाट विपद् कोषमा प्राप्त रकम सरकारसँग समन्वय गरी बाढीपीडितको आवश्यकता पहिचानका आधारमा राहत तथा पुनःस्थापनामा खर्च गर्ने जनाएको छ।
यसैगरी, गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण म्याग्दीका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिलाई मध्यनजर गर्दै नेपाल उद्योग वाणिज्य महासंघ र म्याग्दी उद्योग वाणिज्य संघले स्थानीय सरकारमार्फत प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेका थिए।
बाढी तथा पहिरो प्रभावित परिवारलाई लक्षित गरी करिब १२ लाख रुपैयाँ बराबरको सोलार बत्ती र खाद्यान्न वितरण गरिएको संघले जनाएको छ। प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत पुर्याउने उद्देश्यले दुवै संघले स्थानीय सरकारसँग समन्वय गरी सहयोग उपलब्ध गराएका हुन्।
प्रतिक्रिया