म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा रहेको किसानी कृषि प्राविधिक शिक्षालयमा जेहेन्दार, गरिब र विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरी स्थापित किसानी सञ्जीवनी अक्षयकोषमा २ करोड २४ लाखभन्दा बढी आर्थिक संकलन भएको छ ।
आर्थिक अभावकै कारण प्राविधिक शिक्षाबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न सुरू गरिएको अभियानमा गाउँका अति विपन्न देखि विदेशमा रहेकाहरूबाट बुधबारसम्म उक्त सहयोग संकलन भएको अक्षयकोषका विदेश विभाग प्रमुख कृष्ण जुग्जालीले बताउनुभयो ।
गतबर्षको कात्तिक १२ गतेबाट सुरु भएको अभियानमा हालसम्म सहयोग आउने क्रम जारी छ । हालसम्म न्युनतम १ सय रुपैयाँदेखि धेरै रकम सहयोग गर्नुहुनेमा अक्षयकोषका विदेश विभाग प्रमुख कृष्ण जुग्जाली र दल जुग्जालीको परिवारबाट ११ लाख १२ हजार ५५५ रुपैयाँ रहेको छ ।
त्यसैगरी अमेरिकामा बस्नुहुने बिम गाउँका बिजय जुग्जालीले ११ लाख ११ हजार १११ रुपैयाँ, हङकङमा रहनुभएका दल शेरबुजाबाट ६ लाख रहेको छ ।

किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले केहीले खाद्यान्न बेचेर पनि सहयोग गनुर््भएको बताउनुभयो । बिम गाउँका ३ सय घरधुरीले नै यो अभियानमा सहयोग गरेको र विभिन्न जिल्लाका साथै प्रवासमा रहेका बिमबासीबाट अभियानमा एकजुट भएर सहयोग गरिएको प्राचार्य गर्बुजाको भनाई छ । बिहिबार विद्यालयको हीरक जयन्तीको अवसर पारि अक्षयकोषको शुभारम्भ समेत गरिएको छ ।
कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष बेग प्रसाद गर्वुजाले शिक्षाको क्षेत्रमा स्थानीयले गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले प्राविधिक शिक्षालाई सहज बनाउनका लागि पालिकाले पनि वर्षेनी सहयोग उपलब्ध गराउदै आएको बताउनुभयो ।
व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान,पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण पनि बढेको छ । बिममा बि.स २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीन वर्षे पशुविज्ञान तहको पढाइ सुरु भएको थियो ।
अहिले यहाँ २१ जिल्लाका १५० जना विद्यार्थी अध्ययनरत छन् । कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पढाइ हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । विपन्नलाई प्राविधि शिक्षामा जोडेर आर्थिक गतिविधिमा सघाउने गरी कोषको स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलिप्रसाद जुग्जालीले बताउनुभयो ।

देशका विभिन्न जिल्लामा सञ्चालन खर्च समेत जुटाउन नसकिरहेको कृषि प्राविधिक शिक्षालयका बिच पश्चिम म्याग्दीमा रहेका किसानी कृषि प्राविधिक शिक्षालयमा भने देशभरबाट पढ्न आउने र रोजगारीका लागि समेत धमाधम सिफारिस भइरहेका छन् ।
कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनाका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषि उपजहरू उत्पादन गरी बजारमा बेच्ने समेत गरिएको छ ।
कृषि प्राविधिक शिक्षालयको स्थापना यहाँ विद्यार्थी र शिक्षकहरुकै प्रयासमा उत्पादन भएको बस्तु बिक्री गरी विद्यार्थीले आफ्नो खर्च चलाउने गरेका छन् ।
प्रतिक्रिया