logo
  • ११ श्रावण २०८३, सोमबार | Mon, 27 Jul 2026
    • myagdipress myagdipress
    • १५ पुष २०८२ मंगलवार

    काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । उनको ८० वर्षको उमेरमा आज ९मंगलबार० बिहान स्थानीय समयअनुसार बिहान ६ निधन भएको हो ।

    बंगलादेश नेशनलिस्ट पार्टी बीएनपी को मिडिया सेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् खालिदाको निधन भएको सूचना दिएको छ ।

    बीएनपीले सोशल मिडिया प्लेटफर्म एक्समा लेखेको छ, ‘बीएनपीकी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको आज बिहान ६ बजे निधन भएको छ ।’

    २५ डिसेम्बरमा खालिदाका छोरा तारिक रहमान १७ वर्षपछि लण्डनबाट ढाका फिर्ता भएका थिए । उनी स्वदेश फर्किएको पाँच दिनपछि खालिदाको निधन भएको हो ।

    खालिदा पछिल्ला केही महिनादेखि बिरामी थिइन् । ढाकाको इभरकेयर अस्पतालमा उनको उपचार भइरहेको थियो । खालिदा चार दशकभन्दा बढी समयदेखि बंगलादेशको राजनीतिमा सक्रिय थिइन् । पतिको हत्यापछि उनले बीएनपीको नेतृत्व सम्हालेकी थिइन् ।

    सन् १९८१ मा जियाउर रहमान बंगलादेशका राष्ट्रपतिमा बहाल रहेकै बेला हत्या भएको थियो । खालिदा सन् १९९१ मा बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।

    त्यसपछि उनी सन् २००१ मा सत्तामा फर्किएकी थिइन् । सन् २००६ सम्म खालिदाले सरकारको नेतृत्व गरेकी थिइन् ।

    बीएनपीले बंगलादेशमा सम्पन्न पछिल्ला तीन निर्वाचन बहिष्कार गरेको थियो । सन् २०२४ मा तत्कालीन प्रधनमन्त्री शेख हसिनाविरूद्ध सुरू भएको विद्यार्थी आन्दोलनलाई खालिदाले समर्थन गरेकी थिइन् ।एजेन्सी



    myagdipress myagdipress    
  • १५ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP