logo
  • २२ चैत्र २०८२, आईतवार | Sun, 05 Apr 2026
  • जेसिजद्वारा विद्यार्थीलाई उद्घोषणकला तालिम प्रदान

    • myagdipress myagdipress
    • २५ श्रावण २०८२ आईतवार
    जेसिजद्वारा विद्यार्थीलाई उद्घोषणकला तालिम प्रदान

    म्याग्दी, २५ साउन । म्याग्दी जेसिजले यहाँको एक विद्यालयका विद्यार्थीहरुलाई उद्घोषणकला तालिम दिएको छ । जिल्ला सदरमुकाम बेनी बजार स्थित बेनी सामुदायिक माध्यामिक विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत झण्डै ४० जना विद्यार्थीहरूलाई जेसिजले एकदिने प्रभावकारी उद्घोषणकला तालिम प्रदान गरेको हो ।

    नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष तथा म्याग्दी जेसिजका पूर्व अध्यक्ष सन्दिप खत्री र खम थापा मगरले तालिमको सहजीकरण गर्नुभएको थियो । तालिममा विद्यार्थीहरुलाई सार्वजनिक स्वरुपका कार्यक्रम उद्घोषण, भाषण शैली, तथा नेतृत्व र क्षमता विकास सम्वन्धी कला सिकाईएको थियो ।

    प्रशिक्षकद्वयले उद्घोषण कलाको आधारभूत सिद्धान्त, प्रस्तुतीकरण शैली, आवाजको प्रयोग, आत्मविश्वास वृद्धिका उपाय लगायतका विषयमा सहभागी विद्यार्थीहरूलाई अभ्याससहित प्रशिक्षण दिनुभएको थियो ।

    उद्घाटन सत्रमा बोल्दै म्याग्दी जेसिजका शाखा अध्यक्ष विनोद घर्तीले विद्यार्थीहरूको व्यत्तित्व विकासका लागि जेसीज सधैँ सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन म्याग्दी जेसीजका कोषाध्यक्ष नवीन पौडेलले गर्नुभएको थियो ।

    उक्त तालिममा म्याग्दी जेसीजका पूर्व अध्यक्षहरू बीरेन्द्र श्रेष्ठ, सुमन बानियाँ र दिनेश बानियाँको विशेष उपस्थिति रहेको थियो । उहाँहरूले विद्यार्थीहरूलाई तालिममा सिकेको ज्ञानलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न र विद्यालयका बिभिन्न कार्यक्रमहरुको यसको प्रयोग गर्न आग्रह गर्नुभयो ।

    सहभागी विद्यार्थीहरूले तालिमबाट उद्घोषणसम्बन्धी नयाँ कुराहरू सिक्न पाएको अनुभव सुनाउँदै यस्ता कार्यक्रमले आत्मबलमा अभिवृद्धि हुने बताएका छन् । विद्यालय प्रशासनले पनि यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्न मद्दत मिल्ने भन्दै आयोजकप्रति धन्यवाद ज्ञापन गरेको छ ।



    myagdipress myagdipress    
  • २५ श्रावण २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP