अमित विश्वकर्मा,
म्याग्दी, २४ असार ।
म्याग्दीको बेनी नगरपालिकाले नगर क्षेत्रको मौलिक कला र संस्कृतिको संरक्षण र प्रवर्धनमा पहल थालेको छ । नगरपालिकाका दश वटै वडामा रहेका विभिन्न मौलिक कला र संस्कृतिलाई उजागर गर्न नगरले विभिन्न कार्यहरु संचालन गर्दै आएको हो । नगरपालिका भित्र बसोबास गर्ने व्राह्मण, क्षेत्री, मगर, नेवार, गुरुङ, थकाली, दलित, छन्त्याल लगायतका जातजातिहरुको आ–आफ्नै भेषभुषा, परम्परागत रुपमा चल्दै आएका संस्कार र संस्कृतिहरु रहेका छन । यी संस्कृतिहरुलाई अमुल्य नीधिको रुपमा लिदै बेनी नगरपालिकाले विकास र संरक्षणका योजनाहरु अघि सारेको छ ।
परम्परागत मौलिक लोक संस्कृतिलाई पुस्ता हस्तान्तरणका लागि तालिम तथा प्रशिक्षणहरु समेत संचालन गर्दै आएको नगरपालिकाले भौतिक विकासका साथै सांस्कृतिक विकासलाई पनि संगसंगै अगाडि बढाउने पहल थालेको छ । बेनी नगरपालिकाले कला संस्कृतिको संरक्षण तथा प्रवर्धनका लागि पन्चेबाजा, मादल धिमे बजा लगायतका संगीत प्रशिक्षण, नौमति बाजा समुह तथा अन्य संगीत समुहलाई वाध्ययन्त्र, पोसाक लगायतका सामग्री हस्तान्तरण, पुख्र्यौलीको पुस्ताहस्तान्तरणका लागि तालिम, प्रशिक्षण तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरु संचालन गर्ने संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । बे
नी नगरभित्र देख्न सकिने जिल्लाकै महत्वपूर्ण लोक संस्कृतिको रुपमा रहेका यी मौलिक संस्कृतिको विकास र प्रवर्धनमा नगरपालिका संगै स्थानीय समुदायले पनि चासो देखाएका छन ।
मगर समुदायको पुख्र्यौली÷सोरठी
मगर समुदायको प्रचलित पुख्यौली गीत र नाँच बेनी नगरको सांस्कृतिक पहिचान हो । मादले र मारुनी बनेर विभिन्न शुभकार्यहरुमा मगर समुदायले प्रस्तुत गर्ने उक्त नाँचमा अलौकिक शक्ति समेत हुनेगर्दछ । सोरठी गीत सहितको यो नाँच सुरु गुर्नपुर्व सरस्वती जगाउने गरिन्छ । मादलको फरक फरक ताल अनुसार प्रस्तुत गरिने उक्त नाँचमा गीत र मादलको तालमा विभिन्न देवी देवताहरुलाई सम्झेर सरस्वती जगाउँदा कलाकारहरु तथा छेउँछाउँमा रहेका व्यक्तिहरुलाई समेत सरस्वति चढेर काम्ने गर्दछन । र पछि गीत र मादलको तालबाटै फेरी उनिहरुलाई पुरानै अवस्थामा फर्काइन्छ ।
यो संस्कृति देशमै अनौठो र म्याग्दी जिल्लाकै अमुल्य सम्पत्तिको रुपमा रहेको छ । पुरुषको पोशाक लगाएका मादले कम्मरमा मादल भिरेर मादल बजाउँदै नाच्छन् भने महिलाको मौलिक भेषभुषामा सजिएका पुरुष नै मारुनी बनेर नाच्ने गर्छन् । पुख्र्यौलीमा मुख्य गीत निकाल्ने गिताङ्गेले पुराना राजा रानी र देवी देवताका कथा संगै माया, प्रेम र आफ्नो पुर्खाका दुःख–सुखलाई समेटेर सोरठी गीत गाउने गर्छन भने महिलाहरुको समूहले लामो स्वरमा गीत छोपेर साथ दिने गर्दछन ।

वर्षे नाँच नेवारी समुदायको पहिचान
बेनीका नेवार समुदायभित्र प्रचलित वर्षे नाच म्याग्दी जिल्लाकै प्रतिनिधित्व गर्ने प्राचिन लोक संस्कृतिको रुपमा रहेको छ । वर्षे रोपाई सहित खेतिपाती लगाउने काम सकिएपछि जिल्लाका ग्रामिण भेगका मानिसहरुलाई समेत बेनी बजार आउन अभिप्रेरित गर्ने गरि बेनीमा सुरु भएको बर्षे नाँच निकैनै पुरानो हो ।
यस नाँचभित्र लाखे नाँच, घोडे नाँच, भोटेनाँच, गोरु नाँच, सिकारी नाँच, असारे रोपाई नाँच, नागानागीनि नाँच लगायत रहेका छन । त्यस्तै हनुमान नाँच, धिमेबाजा नागानागीनि नाँच नेवार समुदायको मुख्य संस्कृतिको रुपमा रहेका छन । नगरपालिकाले नेवार समुदायको धिमे बाजा र हनुमान नाँच, नागानागीनी, लाखे, रोपाई लगायतका वर्षे नाँचको संरक्षण र पुस्ता हस्तान्तरणका लागि तालिम तथा प्रशिक्षण कार्यक्रम संचालन गर्न सहयोग गरेको छ । यसबाट नेवार समुदायका नयाँ पीडिले धिमे बाजा बजाउन थालेका छन भने पुस्तौ पुरानो हनुमान नाच र नागानागानी नाँचमा पनि नयाँ पीडिलाई सहभागी गराईएकोे बेनीका अग्रज कलाकार संजय कुमार श्रेष्ठ बताउनुहुन्छ ।
गुरुङ समुदायको छ्यादु नाँच
बेनी नगरपालिका ४ थामडाडा, मालिकाको दरवाङ लगायतका स्थानमा न्युन संख्यामा रहेका गुरुङ समुदायको परम्परासंग जोडिएको नाँच हो छ्यादु । पेलुवादी अर्थात आफ्ना पुर्खा र पितृहरुलाई मान्ने गुरुङहरुले मृत्यु संस्कारमा यो नाँच नाच्ने गर्दछन । म्याग्दी जिल्लामा लोप भईसकेको अवस्थामा वडा नम्वर ४ थामडाँडाका गुरुङ समुदायले यो नाँचलाई पुनर्जीवित गराएका छन । बेनी नगरपालिकाको आर्थिक सहयोगमा छयादु नाँचको तालिम संचालन गरेपछि त्यहाँका गुरुङ समुदायले अहिले आफ्नो मृत्यु संस्कारमा मात्रै होईन जिल्लाका विभिन्न समारोहहरुमा सांस्कृतिक झाँकीको रुपमा उक्त नाँच देखाउन थालेका छन ।
१५ देखि २० जनाको समुहमा रहेर ध्याङ्ग्रो र झ्याली बजाउँदै गुरुङ समुदायको विशेष भेषभुषा सहित प्रस्तुत गरिने यो नाँच हेर्दा आकर्षक र अनौठो लाग्ने गर्दछ । नौ ताल सम्म प्रस्तुत गर्न सकिने छ्यादु यहाँका गुरुङ समुदायले भने हाल सम्म चार ताल मात्रै बजाउने र नाच्ने गरेका तमु पेलु संघ म्याग्दीका अध्यक्ष राजु गुरुङ बताउनुहुन्छ । आफ्नो पुर्खा÷गुरुको सम्मानमा शिरमा टोपी (उर्गे) लगाई सुरुमा गुरु मन्त्र जपेर, गुरु प्रति श्रद्धा भाव व्यक्त गरेर मात्र नाँच देखाउन सुरु गरिन्छ । छ्यादु संगै ढोलकी नाँच पनि प्रस्तुत गर्ने योजना बनाईएको अध्यक्ष गुरुङको भनाई छ ।
क्षेत्री समाजको सरुन नाँच
पछिल्लो समय बेनीमा प्रस्तुत हुने सांस्कृतिक झाँकीमा क्षेत्री समाजले प्रस्तुत गर्ने सरुन नाँच पनि अर्को आकर्षणको रुपमा रहेको छ । यहाँका क्षेत्री समुदायले २ वर्षअघिदेखि मात्रै म्याग्दीमा यो नाँच देखाउन थालेका हुन । १० देखि १५ जनाको समुहमा रहेका क्षेत्रीका पुरुष कलाकारहरु देशभक्ति गीत बजाएर एक हातमा तरवार र अर्को हातमा ढाल र कम्मरमा खुकुरी भिरेर नेपाली मौलिक पोषाक दौरा सुरुवाल र ढाकाटोपी लगाएर नाच्ने गर्छन सरुन नाँच ।
यो नाँचलाई क्षेत्री समुदायको ऐतिहासिक कला कौशलका साथसाथै देश प्रतिको सम्मान, रक्षा र विरताको प्रतिकको रुपमा पनि लिने गरिएको क्षेत्री समाज म्याग्दीका वरिष्ठा उपाध्यक्ष देवेन्द्र घिमिरेको भनाई छ । नेपालको एकिकरण लगायत विभिन्न कालखण्डका युद्धहरुमा क्षेत्रीले देखाएको वहादुरी र राष्ट्रभक्तिको भावलाई नाँच मार्फत झल्काउने खोजिएको छ, उहाँले भन्नुभयो । सरुन नाँचलाई संरक्षण गर्नका लागि बेनी नगरपालिकाले ढाल, तरवार, कुखुरी दौरा सुरुवाल लगायतका सामग्री खरिद गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

थाली नाँच, म्याग्दीको पहिचान
यो मेरो स्टीली थाल, हातैमा नचाउँला झलल
मनमा धोको छ भने फेर्नलाई, म्याग्दी आउनु थाली नाँच हेर्नलाई
माथिका यी गीतहरुका हरफमा भनिएझै थाली नाँच म्याग्दीको पहिचान हो । जिल्लाको रघुगङ्गा गाउँपालिका–७, चिमखोला थाली नाँचको उद्गम स्थल हो । पाँच दशक अघि चिमखोलाकी हिरामाया पुनले सिर्जना गर्नुभएको थाली नाँचको लोकप्रीयता हाल वढ्दै गएको छ । अग्रजहरुमा सीमित यो नाच युवा पुस्तामा पनि हस्तान्तरण हुँदै गएको छ । दुवै हातमा थाल राखेर नचाउने भएकाले यस नृत्यलाई ‘थाली नाच’ नामकरण गरिएको हो ।
म्याग्दीको पहिचान बनेको मौलिक लोकनृत्य थाली नाँचको संरक्षण र संवर्धनमा जुट्नुपर्ने म्याग्दीका अग्रज गायीका धनकुमारी थापाको भनाई छ । म्याग्दी सहित देशका विभिन्न ठाउँमा हुने मेला महोत्सव, सम्मेलन लगायत हरेक कार्यक्रममा समेत थाली नाच देखाउने गरिएको छ । गीतको लय र शब्दसँगै हातमा थाल राखेर नाचिने थाली नृत्यलाई म्याग्दीलीहरुले देशभित्र मात्र नभई विदेशमा पनि पुर्याएका छन् ।

संस्कृतिमा विविधताः सामाजिक एकता
संस्कृति हरेक समुदायको पहिचान हो । संस्कृति र संस्कारले समुदाय र समाजलाई सुशोाभित बनाएको हुन्छ । कला र संस्कृति देशको सम्पत्ती हो र पहिचान पनि । म्याग्दी पनि कला र संस्कृतिको क्षेत्रमा निकै धनि छ । यहाँ बसोबास गर्ने विभिन्न जातजातिहरुको आ आफ्नै मौलिक संस्कार र संस्कृतिहरु रहेका छन ।
लोक संस्कृतिको विकास र उत्थानमा समुदायको अहम भूमिका हुन्छ । हरेक संस्कृतिका आआफ्नै मुल्य र मान्यताहरु हुन्छन । सामाजिक, सांस्कृतिक, परम्परागत र धार्मिक विविधताले देशलाई विश्वमा चिनाएजस्तै म्याग्दी जिल्लालाई पनि देशव्यापीरुपमा चिनाएको छ ।
जिल्लामा रहेका अधिकांश जाताजातिका आफ्नै भाषा छन । आफ्नो भाषा, भेषभुषा र धर्म अनुसार विविध प्रकारका सांस्कृतिक मुल्य र मान्यताहरु पनि छन । एक जातले अर्को जातको संस्कार र संस्कृतिलाई सम्मान गर्ने परम्परा छ । आ आफ्नै मौलिक संस्कृति र चाडपर्वका विशेषताहरु पनि छन । संस्कार र संस्कृति जोगाउनु भनेको आफ्नो पहिचान देखाउनु पनि हो । संस्कार र संस्कृति जोगाएर सामाजिक सद्भाव कायम राख्नुमा यहाँका जातजातिहरुको महत्वपूर्ण भुमिका रहेको छ ।
परापूर्वकालदेखि चलेको संस्कार र संस्कृतिको संरक्षण गर्नु रक्षा गर्नु र यसको सम्मान गर्नु सवैको दायित्व हो । जिल्लामा सामाजिक रीतिरिवाज, चालचलन, भेषभुषा, मुल्यमान्यता मर्यादामा विविधता एवम् स्वतन्त्रता छ । एक जाति वा समुदायले अर्को जाति वा समुदायको संस्कार, संस्कृति र परम्परालाई सम्मान एवम् संरक्षण गर्दै आएको पाईन्छ ।

निष्कर्षः
समाज परिवर्तनका निम्ती सांस्कृतिक रुपान्तरण हुन जरुरी छ । सांस्कृतिक जागरण समृद्धिको आधार पनि हो । सांस्कृतिक पक्षमा सकरात्मक परिवर्तन हुन जरुरी छ । नगरभित्रका अनेकन् लोक संस्कृतिलाई पर्यटन विकास संग जोडेर पनि नगरपालिकाले विभिन्न कार्ययोजनाका बनाउन आवश्यक देखिन्छ ।
लोपोन्मुख अवस्थामा पुगेका रैथाने, ऐतिहासिक तथा पुरातात्विक वस्तुहरु, जातीजातिका पहिचान झल्किने भेषभुषा, परम्परागत हस्तकलाका सामाग्री, पञ्चेबाजा लगायतका साँस्कृतिक सम्पत्तिहरु संग्रहित गर्ने गरि बेनीमा कलाघर निर्माण गर्न सके यहाँ आउने पर्यटकले सांस्कृतिक रुपमा म्याग्दी चिन्ने मौका पाउन सक्थे ।
जिल्लाका मौलिक कला र संस्कृति सम्वन्धित गतिविधिहरु संचालनका लागि संस्कृति शाखा तथा विभाग नै खडा गरि खोज,अध्ययन, अनुसन्धान, तथा प्रशिक्षणका कार्यक्रमहरु संचालन गर्न सक्ने हो भने यहाँका मौलिक कला र संस्कृतिको उत्थान, विकास र थप प्रचार प्रसारमा टेवा पुग्न सक्दछ ।

प्रतिक्रिया