म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट आवासीय माविले जितेको छ । बिहिबारदेखि सुरु भएर शनिवार बेनीको खुलामञ्चमा सम्पन्न बेनी नगरपालिका भित्रका अन्तर विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा वेष्ट प्वाइन्ट च्याम्पियन बनेको हो ।
प्रतियोगितामा वेष्ट प्वाइन्टले कुल २१ स्वर्ण १५ रजत र १६ कास्यपदक ल्याएर उपाधि हात पारेको आयोजक बेनी नगरपालिकाले जनाएको छ । प्रतियोगितामा द्वितीय भएको प्रकाश माविले २१ स्वर्ण, ११ रजत र ५ कास्यपदक जितेको छ भने तृतीय भएको बेनी सामुदायिक माविले ११ स्वर्ण, १५ रजत र १२ कास्यपदक जितेको छ । प्रतियोगितामा सामुदायिक र संस्थागत गरी कुल २७ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा प्रथम विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद ५१ हजार, द्वितीय र तृतीयले क्रमशः नगद ४० हजार तथा ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कृत भएका छन् । एथ्लेटिक्स, भलिबल, मार्सलआर्ट र कबड्डीसहित चारवटा विद्यामा कुल ६६ स्वर्णपदकका लागि २० सामुदायिक र ७ संस्थागत विद्यालयका ८ सयजना भन्दाबढी विद्यालयहरुले प्रतिस्पर्धा गरेका थिए ।
विजेता विद्यालयहरुलाई बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र सामाजिक विकास समिति संयोजक चक्र केसीले पुरस्कार वितरण गरेका थिए ।
प्रतिक्रिया