म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापा गत माघ महिनामा गण्डकी प्रदेशमा उत्कृष्ट प्रहरीको रूपमा घोषित हुनुभएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जारी गरेको सूचनामा समाजमा शान्ति सुरक्षा अमनचयन कायम राख्न, अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्न, फैसला कार्यान्वयन गर्न, प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न र प्रहरी कार्यालयको लागि निशुल्क जग्गा प्राप्तिसँगै उदाहरणीय एवं नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०८१ बमोजिम २०८२ साल माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको उल्लेख छ ।
प्रनाउ थापाको सक्रियतामा म्याग्दीमा १ सय ३३ अवैध हतियार, ५६ नविकरण हतियार बरामद, फरार अपराधीहरुलाई पक्राउ लगाएतका कार्यहरु भएको छ । त्यस्तै उहाँले प्रहरीमार्फत समुदायस्तरमा हुने कार्यक्रमहरुमार्फत नागरिक प्रहरी बिचको सम्बन्ध स्थापित गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्नुभएको छ । सांगठनिक नीति निर्देशन बमोजिम प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई ईमान्दार, बफादार र कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ सम्पादन गरेको भन्दै सम्मान प्राप्त गरेकोमा थप जिम्मेवारीबोध भएको प्रनाउ थापाको भनाई छ ।
जिल्लाको शान्ति, सुरक्षा, सुव्यवस्था कायम गर्न प्रनाउ थापाले सक्रियता देखाउनुभएको छ । प्रनाउ थापाले केहि समय अघि लामो समयसम्म प्रहरीको भान्सामा कार्यरत कर्मचारीको अवकाशपछि प्रहरी कार्यालयबाट घरसम्म पुर्याउने गरी गरेको बिदाईको समेत प्रशंसा भएको थियो ।
प्रतिक्रिया