म्याग्दी, ३० वैशाख । म्याग्दीका क्रियाशिल तीनजना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । जिल्ला समन्वय समितिको दशौं जिल्ला सभा तथा वार्षिक समिक्षा कार्यक्रमका अवसरमा मंगलबार जिल्ला समन्वय समितिको कार्यालयले पत्रकारहरुलाई नगद सहित विकास पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
जिल्ला समन्वय समिति म्याग्दीले स्थापना गरेको विकास पत्रकारिता पुरस्कारबाट जिल्लाका क्रियाशिल पत्रकार प्रताप बानियाँ, दलप्रसाद विश्वकर्मा (अमित) र राकेश शर्मालाई जनही नगद ११ हजार रुपियाँ र सम्मान पत्रले पुरस्कृत गरिएको जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीले बताउनुभयो ।
संविधान सभा सदस्यहरु गोविन्द पौडेल, नवराज शर्मा, रेशमबहादुर बानियाँ, नरदेवी पुन गण्डकी प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जाली र जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्री लगायतले नगद, प्रमाणपत्र र दोसल्ला ओडाएर पुरस्कृत एवम् सम्मान गर्नुभएको थियो ।
बानियाँलाई आर्थिक वर्ष २०७८÷०७९, विश्वकर्मालाई २०७९÷८०, शर्मालाई २०८०÷०८१ को पुरस्कार एकैपटक प्रदान गरिएको हो । पुरस्कृत हुनुहुने पत्रकारहरु जिल्ला र केन्द्रीय स्तरका विभिन्न सञ्चार माध्यममा एक दशक भन्दा लामो समयदेखि क्रियाशिल हुनुहुन्छ ।

नवीन सोच तथा प्रतिभाको प्रयोग गरी खोजमुलक, अनुसन्धानमुलक समाचार मार्फत जिल्लाको समग्र विकासमा योगदान पु¥याएको भन्दै पत्रकारहरुलाई नगद सहित सम्मानित गरिएको जिल्ला समन्वय अधिकारी कमलप्रसाद आचार्यले बताउनुभयो ।
तत्कालिन समयमा जिल्ला विकास समितिले स्थापना गरेको. दुई लाख रुपियाँको कोषमा जिल्ला समन्वय समितिले एक लाख थपेर तीन लाख रुपियाँको विकास पत्रकारिता अक्षय कोष बनाएको छ । पत्रकारहरुबाट आवेदन संकलन गरेर लेखेका समाचार मूल्याङ्कन गरी छनौट समितिद्धारा उत्कृष्ट पत्रकारहरु छनौंट गरिएको जिल्ला समन्वय समितिका शाखा अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
२०७२ मा तत्कालिन जिल्ला विकास समितिले म्याग्दी जिल्लाको विकास पत्रकारिता अक्षयकोष कार्यविधि २०७२ बनाएर उक्त अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष एकजना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिँदै आएको छ ।
यसैगरी बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकालाई जिसस म्याग्दीले कदरपत्रद्धारा सम्मान गरेको छ । स्थानीय तह संस्थागत स्वमूल्याङ्कन कार्यविधि बमोजिम आ.व २०८०÷०८१ को मुल्याङ्कनमा ९०.२५ अंक प्राप्त गरी म्याग्दी जिल्लाका स्थानीय तहहरु मध्य सर्वोत्कृष्ट स्थान प्राप्त गरेको भन्दै नगरपालिकालाई कदरपत्रद्धारा सम्मान गरिएको छ ।
यस्तै स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि २०७७ बमोजिम आ.व २०८०÷०८१ को मूल्याङ्कनमा ८९ अंक प्राप्त गर्दै जिल्लाका स्थानीय तहहरु मध्य सर्वोत्कृष्ट भएको भन्दै कदरपत्रद्धारा सम्मान गरिएको जिससका शाखा अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया