logo
  • १० श्रावण २०८३, आईतवार | Sun, 26 Jul 2026
  • विश्वकपमा चम्किएका ४० वर्षीय गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्धित हुने

    • myagdipress myagdipress
    • १० श्रावण २०८३ आईतवार
    विश्वकपमा चम्किएका ४० वर्षीय गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्धित हुने

    काठमाडौँ। फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका केप भर्डका अनुभवी गोलकिपर भोजिन्हा चिलीको शीर्ष डिभिजन क्लब कोलो कोलोमा आबद्ध हुने भएका छन्।

    ४० वर्षीय भोजिन्हा पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेससँगको सम्झौता सकिएपछि कुनै पनि क्लबविनै विश्वकप खेल्न गएका थिए।

    तर, उनले विश्वकपमा गरेको प्रभावशाली प्रदर्शनले सबैको ध्यान खिच्यो। विशेषगरी अन्ततः विश्वकप विजेता बनेको स्पेनविरुद्धको गोलरहित बराबरीमा उनले उत्कृष्ट गोलकिपिङ गर्दै प्रशंसा बटुलेका थिए।

    कोलो कोलोका अध्यक्ष अनिबाल मोसाले भोजिन्हा क्लबमा आबद्ध हुने पुष्टि गर्दै भने, ‘भोजिन्हा अब कोलो कोलोका खेलाडी हुनेछन्। केही दिनभित्र उनी चिली आउनेछन्, नियमित स्वास्थ्य परीक्षण पूरा गरेपछि एस्टाडियो मोनुमेन्टलमा औपचारिक रूपमा सार्वजनिक गरिनेछ।’

    मोसाले विश्वकपमा भोजिन्हाले देखाएको प्रदर्शनका आधारमा उनी यो अवसरका हकदार रहेको बताए। साथै, उनको आगमनले क्लबलाई खेलकुदसँगै बजार प्रवर्द्धनमा पनि फाइदा पुग्ने विश्वास व्यक्त गरे।

    चिलीको राजधानी सान्टियागोमा रहेको कोलो कोलो हाल देशको शीर्ष लिग ‘लिगा डे प्रिमेरा’ को शीर्ष स्थानमा छ।

    भोजिन्हा विश्वकपमा स्पेनविरुद्ध केप भर्डलाई पहिलो पटक विश्वकपमा अंक दिलाउन सफल भएपछि समर्थकमाझ ‘कल्ट हिरो’ बनेका थिए। त्यसपछि सामाजिक सञ्जालमा पनि उनका लाखौँ नयाँ समर्थक थपिएका थिए।

    भोजिन्हाले यसअघि स्लोभाकिया, अंगोला, मोल्डोभा, साइप्रस र पोर्चुगलका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन्।



    myagdipress myagdipress    
  • १० श्रावण २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP