अमित विश्वकर्मा
म्याग्दी जिल्लाको पश्चिममा अवस्थित मालिका गाउँपालिका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र ’दरबाङ’ बजारमा यस गाउँपालिकाको केन्द्र रहेको छ । बेशीदेखि लिएर अग्ला पहाड र सुन्दर लेकहरूसम्म फैलिएको यस गाउँपालिका प्राकृतिक हिसावले पनि निकै नै सुन्दर छ । अनेकन मठ मन्दिर, ताल तलैया, पहाड, हिमाल देखिने डाँडाकाडा, गाईचरनका खर्क, ध्यान केन्द्र एवम् हरिया घना बन जंगलहरुले मालिका गाउँपालिकालाई सुन्दरता थपेको छ । प्रसिद्ध धार्मिक स्थल मालिका धुरी, दुरलेक, वराह ताल, देउताभिर गुफा, भालेवास्ने ताल, यहाँका धार्मिक तथा पर्यटकीय स्थलहरु हुन । भने ओखरबोटको तामा खानी र रुमको ढुंगाखानीले पालिकाको इतिहास र परम्परा झल्काएका छन ।
अधिकांश मगर समुदायको वाहुल्य बसोवास रहेको यस पालिकामा व्राहमण, क्षेत्री, गुरुङ, नेवार, दलित लगायतका जातजातीहरुको पनि बसोबास रहेको छ । यस गाउँपालिकामा स्थानीय कला, संस्कृति, परम्परा, रहनसहन र रीतिरिवाजको विविधता पाइन्छ ।
साविकाको ७ वटा गाउँ विकास समितिहरु मिलेर बनेको यस पालिकामा अधिकांस हिन्दू धर्म मान्ने मानिसहरुको बसोबास रहेकाले यस गाउँपालिकाबासीले दशैँ, तिहार, तिज, माघेसंक्रान्ति, जनैपूर्णिमा, फागुपूर्णिमा लगायतका पर्वहरु उत्साहका साथ मनाउने गर्दछन भने वुद्ध जयन्ती, क्रिसमस डे, ल्होसार लगायतका पर्वहरु पनि यहाँ मनाउने गरिन्छ ।
यहाँका गाउँवस्तीहरुमा विभिन्न समयमा परम्परागत रुपमा संचालन हुँदै आएका मेला तथा महोत्सवहरु निरन्तर संचालन भईरहेका छन । जसको मुख्य लक्ष स्थानीय मौलिक कला र संस्कृतिको संरक्षण, प्रवर्धन तथा खेलकुद विकास गर्नु हो । प्रत्यक वर्ष दशैँ पर्वको अवसरमा संचालन हुने वडा नम्वर २ स्थित रुम गाउँको मेला गाउँपालिका भित्रको ठुलो मेला मध्यको एक हो । जहाँ वर्षौ पुरानो ऐतिहासिक घोडेनाँच देखाईन्छ ।
मगर समुदायको पुख्र्यौली, सोरठी यहाँको मुख्य लोक संस्कृति भित्र पर्दछ । त्यसैगरि नौमति बाजा, लोक चुट्का भजन, यानीमाया, सालैजो, शिरफुल, झ्याउरे, रत्यौली लगायतका गीतहरु यहाँका मौलिक लोक संस्कृतिहरु हुन । विभिन्न जातजातीहरुको पहिचान झल्किने नेपाली पोषाकहरु यहाँका आकर्षण हुन । दशैँको नवमीमा रातभरि जाग्राम वसी विभिन्न नाँचगान सहितको कार्यक्रम गरि कालरात्री मनाउने विम डाँडागाउँको पुरानो चलन अझै पनि उस्तै छ । वडा नम्वर २ को घोडेनाँच मेला भर्न जानेहरुको मुख्य सांस्कृतिक आकर्षण नै बनेको छ । विम, ओखरबोट, निस्कोट, देविस्थान लगायतका गाउँका पुख्र्यौलीमा अदभुत कला भेटिन्छ । दिच्याम, विम दरवाङ दुखु लगायतका आमा समुह तथा त्यहाँका दिदीवहिनीहरुले म्याग्दी जिल्लाकै पहिचानको रुपमा रहेको थाली नाँचलाई पनि प्रवर्धन गर्दै लगेको पाईन्छ ।

ईतिहास बोल्ने रुमको घोडेनाँच
वडा नम्वर २ रुम गाउँमा हरेक वर्षको दशैँमा प्रदर्शन गरिने घोडेनाँच गाउँपालिकाको सांस्कृतिक सम्पत्तिको रुपमा रहेको छ । सयौँ वर्ष पुरानो यो नाँच हेर्नकै लागि छिमेकी जिल्लाहरुबाट समेत दर्शकहरु त्यहाँ पुग्ने गर्दछन । ऐतिहासिक महत्वको यो नाँच ठ्याक्कै कहिलेदेखि सुरु भएको भन्ने कुनै आधार छैन तर त्यहाँका अग्रजहरुका अनुसार बाइसे चौँविसे राज्यको पालदेखि यो नाँचको उत्पत्ति भएको मान्न सकिन्छ ।
त्यहाँको कोतघरमा निकै पुराना हतियार ढाला, तरबार, खुँडा लगायतका सामग्री छन ।
अग्रजहरुका अनुसार ति हतियार बाईसे चौविसे राज्यको पालाका राजाहरुले प्रयोग गरेका थिए । प्रत्येक वर्षको दशैँमा घटस्थापनादेखि कोतघरमा ति हतियारहरुको विशेष पुजाआजा गरिन्छ । दशैँको टिकाको दिनदेखि पुर्णिमा सम्म मंगलबार कि शनिवार पारेर उक्त हात हतियार कोतघर (जेठा मुखियाको घर) बाट निकालिन्छ र त्यहाँबाटै नचाउँदै तत्कालिन समयका मुखियाका घरहरु हुँदै गाउँका मुख्य मुख्य स्थान र मेला संचालन स्थानमा समेत प्रदर्शन गरिन्छ । हाल कोतघरको रुपमा स्थानीय सस वहादुर रोकाको घरलाई मानिएको छ र उहाँकै घरमा ति ऐतिहासिक सामग्रीहरु सुरक्षित राखिएको छ । पुर्खाहरुले लडाईमा प्रयोग गरेको सामान भएकाले हाम्रा पुस्ताले पुज्दै आए, हामी पनि पुज्दै संरक्षण गर्दै आएका छौँ उमेरले ७९ वर्ष पुग्नुभएका सस वहादुर रोका भन्नुहुन्छ ।
यो नाँच कोदारको समयमा भने देखाईदैन, गाउँमा १ वर्ष कोदो रोपिन्छ, त्यो साल घोडेनाँच देखाईदैन र अरु दुई वर्ष कोदो रोपिन्न र घोडेनाँच देखाईन्छ । किन यसो गरिएको होला भन्ने जिज्ञासामा रोका भन्नुहुन्छ, पुर्खाहरुले यसै गर्दै आए हामी पनि यसैलाई निरन्तरता दिदै आएका छौँ । सायद खेतबारीमा लगाएको अन्नबाली मासिन्छ भनेर होला त्यतिबेला यस्तो चलन बनाएको आज सम्म उस्तै नै छ, अव हामी केही गर्न सकिदैन, नयाँ पुस्ताले के गर्छन कुन्नी ।
घोडेनाँचको सुरुमा नौमति बाजाको टोली हुन्छन, त्यसपछि तरबार र ढाला नचाउनेहरु हुन्छन, विचमा घोडा चढेका एक व्यक्ति हुन्छन, स्याघुलाई घोडाको आकार बनाएर कालो कोट, पाइन्ट चस्मा लगाएर हिन्ने ति व्यक्ति भने हाल सम्म जेठा मुखिया पुन बगालनै बन्ने गरेका छन । घोडा सवार मुखिया पछि दुई मादले हुन्छन त्यहि मादलको तालमा लडाईकै झल्कोदिने गरि तरबार र ढाल नचाउछन, यो नाँच हेर्दा साच्चिकै पुर्खाहरुको विरता झल्किन्छ, नमुना इङिलिस वोर्डिङ स्कुलका शिक्षक समेत रहनुभएका स्थानीय टंक घर्ति भन्नुहुन्छ ।

घोडेनाँचको उत्पत्ति र महत्वको बारेमा रुमका अग्रज जवरलाल दर्जिको भनाई
“दशैँको बेला हाम्रो रुपमा गाउँमा नाचिने ऐतिहासिक ’घोडेनाच’ (पुर्खौली नाच) को इतिहास प्राचीन युद्धकला, सैन्य अभ्यास र विजयको उत्सवसँग जोडिएको छ । लिखित इतिहासको अभाव भए पनि पुस्तान्तरण हुँदै आउँदा बाइसे–चौबीसे राज्यकालमा म्याग्दी र वरपरका क्षेत्रका राजाहरूले आफ्नो राज्यको रक्षा र विस्तारका लागि घोडचढी सेनाको प्रयोग गर्थे । सैनिकहरूले घोडामा चढेर शत्रुसँग कसरी लड्ने, तरबार र हतियार कसरी चलाउने र युद्ध जित्ने भनी स्थानीयलाई समेत युद्ध कौशल प्रस्तुत गर्थे र स्थानीयलाई पनि सिकाउँथे, कालान्तरमा त्यो अहिले नाँचको रुपमा रुपान्तरण भएको हुन सक्छ यो त धेरै पुस्ता अगाडीबाट आएको हो । समय वित्दै जाँदा वास्तविक घोडाहरू पाल्न र युद्ध लड्न नपर्ने भएपछि, पुर्खाहरूले कम्मरमा बाँस, स्याघु वा काठको घोडाको ढाँचा बाँधेर सोही युद्ध कौशललाई लोक नृत्यको रूप दिएका हुन् । हामीले हाम्रा वितेर गएका पुस्ताहरुबाट जानेको वुझेको यहि हो ।
विशेषगरी दशैं (नवरात्र) को समयमा प्रदर्शन गरिने हुनाले यसलाई दुर्गा भवानीको शक्ति र दैत्यमाथिको विजयको उत्सव मानिन्छ । सुरक्षाको प्रतीकः समाजमा आउने प्राकृतिक विपत्ति, रोगव्याधि र अदृश्य नकारात्मक शक्तिहरूलाई भगाउनका लागि पुर्खाहरूले वीरताको प्रतीक (घोडा) को अभिनय गरी गाउँ ठाउँमा नाच देखाउने परम्परा सुरु गरेको जनविश्वास समेत रहेको छ । रुम गाउँको घोडेनाच मनोरञ्जन मात्र नभई आफ्ना वीर पुर्खाहरूको वीरता र युद्ध इतिहासलाई जीवन्त राख्ने एउटा मौलिक माध्यम पनि हो । त्यहाँको हातहतियारलाई पुजिएन भने गाउँमा हानी नोक्सानी हुन्छ भन्ने मान्यता पनि रहेको छ” ।
घोडे नाच रुम गाउँको इतिहास र प्राचीन परम्परा बोकेको एक ऐतिहासिक नाँच हो । विशेषगरी यस नाँचले प्राचीन नेपालको विभिन्न ऐतिहासिक घटनाहरूलाई स्मरण गराउँछ । घोडे नाच केवल रमाइलो मनोरञ्जनको साधन मात्र नभई रुम गाउँको सांस्कृतिक सम्पदालाई जोगाउँदै आएको महत्वपूर्ण सम्पत्ति पनि हो । परम्परागत मान्यता अनुसार, यस नाँचमा तरवार समातेर नाचिने शैली विशेष महत्व राख्छ । बाईसे चौविसे राज्यको पालामा राज्यहरूबीच भएको युद्धमा विजय हासिल गरेपछि, हतियार बिसाउने अन्तिम क्षणमा यो नाँच प्रस्तुत गरिन्थ्यो भन्ने जनविश्वास आज पनि रहिआएको छ । यसैले घोडे नाँचलाई विजय, वहादुरी र परम्परासँग जोडिएको गौरवपूर्ण प्रतीक मानिन्छ ।

संस्कृति प्रवर्धनका लागि पालिकाको प्रयास
गाउँपालिका भित्र रहेका परम्परगत मौलिक कला र संस्कृतिको संरक्षण र प्रवर्धनका लागि पालिकाले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । भाषा, संस्कृति र परम्पराहरुलाई बचाई राख्नु स्थानीय सरकारको जिम्मेवारी र दायित्व सम्झिदै गाउँपालिकाले संस्कृति संरक्षणका लागि स्थानीयलाई सघाउदै आएको छ । गत माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघ दरवाङले दरवाङ बजारमा आयोजना गरेको मगर पुख्र्यौली, सोरठी प्रतियोगितालाई पालिकाले आर्थिक रुपमा सहयोग गरेको छ । विवाह, व्रतवन्ध, तथा महत्वपूर्ण समारोहहरुमा आवश्यक पर्ने नौमति बाजाको संरक्षण प्रवर्धनका लागि पालिकाले बाजा समुहलाई सामग्री हस्तान्तरण गर्दै आएको छ ।
यस क्रमलाई निरन्तरता दिदै चालु आर्थिक वर्षमा वडा नम्वर ६ दरवाङको बाजा समुहलाई रु १ लाख र वडा नम्वर २ रुमको बाजा समुहलाई रु ६० हजार बराबरको बाजा सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल बताउनुहुन्छ । वडा नम्वर ६ दुखुको मितेरी आमा समुहलाई स्थानीय भेषभुषा हस्तान्तरण गरिएको छ । समुहमा लगाउन मिल्ने गरि ड्रेस उपलब्ध गराईएको छ । त्यसैगरि दरवाङमा मादल बजाउन सिक्ने आधारभुत तहको १० दिने तालिम संचालन गरिएको छ । उक्त तालिमबाट १० जना महिलाहरुले लोक गीत, भजन, रत्यौली लगायतमा मादल बजाउन सिकेका छन ।
पालिकाले ऐतिहासिक धार्मिक स्थलहरुको संरक्षणका लागि मर्मत सम्भार, सामग्री सहयोग लगायतका कार्य गर्दै आएको छ । रुमको ऐतिहासिक घोडेनाँचलाई संरक्षण गर्न आवश्यक सामग्री उपलब्ध गराईएको छ । पुख्र्यौली समुहहरुलाई सामग्री सहयोग तथा पुस्ता हस्तान्तरणका लागि प्रशिक्षणका कार्यक्रमहरु संचालन गरिएका छन । विभिन्न पर्व तथा अवसरमा संचालन हुने मेलाका लागि क्लवलाई निरन्तर सहयोग प्रदान गर्दै आएको छ ।

खेलकुद विकासः प्राथमिकतामा पूर्वाधार निर्माण
मालिका गाउँपालिकाले खेलकुद विकासका निम्ती पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । हाल विभिन्न वडाहरुमा निर्माण भईरहेका व्यवस्थित खेलकुद मैदानले प्राथमिकतामा पूर्वाधार निर्माण छ भन्ने कुराको प्रमाणित गरेको छ । भलिबल, फुटबल, धनुषबाण (तारोखेल), व्याडमिन्टन, कवड्डी लगायतका खेलहरुको सम्भावना रहेको मालिकाले खेलकुदको विकासमा प्रयाप्त लगानी पनि गर्दै आएको छ । चालु आर्थिक वर्षमा पालिकाको बजेटबाट वडा नम्वर २ रुममा दिपज्योति युवा क्लवको खेलमैदान निर्माण, नवसिर्जना युवा क्लवको भवन निर्माण र हिमाली युवा क्लवको खेलकुद मैदान निर्माण भईरहेका छन । त्यस्तै वडा नम्वर ४ को फुलबारीमा छहारी युवा क्लवको घेरावार, महखानी युवा क्लवको खेल मैदान निर्माण, तामाखानी युवा क्लवको खेलमैदान निर्माणका योजना संचालन गरेको छ । वडा नम्वर ५ मा नव सिर्जना युवा क्लवको स्टेज निर्माण गरिएको छ । देउताभिर युवा क्लवको खेलमैदान निर्माणका लागि विनियोजन भएको रु ९ लाख रुपैयाँको योजना भने संचालन हुन सकेको छैन ।
वडा नम्वर ६ मा मालिका युवा क्लवको खेलमैदान घेराबार, मितेरी युवा क्लवको स्टेज निर्माण, पश्चिम म्याग्दी युथ क्लवको स्टेज र भवनलाई रंगरोगन गरि चिटिक्क पारिएको छ । दरवाङ बजारको पुरानो जनप्रीय माविको खेलमैदान रहेको स्थानमा निर्माण हुन लागेको व्याडमिन्टन कभर्डललाई यस वर्षको रु ९ लाख बजेटले फलामको डन्डी राखेर टिनले छाउने काम सम्पन्न गरिएको छ । त्यस कभर्डहललार्य पूर्णता दिनका लागि पालिकाले आगामी आर्थिक वर्षमा समेत रु १० लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत ढकालको भनाई छ । वडा नम्वर ७ मा विमवाङ युवा क्लव र साईनिङ युवा क्लवको खेलकुद मैदान निर्माण भएको छ ।
वडा नम्वर ७ कै डाडागाउँमा हिमाली युवा क्लवको खेलमैदान र सामुदायिक भवन निर्माण भएको छ । कुल रु. ५५ लाख ६५ हजार पाँच सय ५५ को लागतमा भवन र खेलमैदान निर्माण भएको क्लवका अध्यक्ष टुकमान जुग्जालीले जानकारी दिनुभयो । दुई कोठे भवन, स्टेज र सार्वजनिक शौचालय सहितको भवन परिसरमा पाखो सम्माएर ६३ मिटर लम्बाई र ३२ मिटर चौडाई भएको खेलमैदान निर्माण भएको हो । मालिका गाउँपालिकाबाट रु. १७ लाख र गण्डकी प्रदेश सरकारबाट रु.१२ लाख सहयोग प्राप्त भएको खेलमैदान र भवन निर्माणका लागि बाँकी रकम भने हिमाली युवा क्लवले देशविदेशमा रहेका डाँडागाउँबासीहरुबाट सहयोग संकलन गरेको हो ।

वडा नम्वर २ रुममा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता निरन्तर संचालन हुँदै आएको छ । साथै वडा कार्यालयबाट क्लवलाई खेलकुद सामग्री प्रदान गरिएको छ । खेलमैदान नहुँदा खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न समस्या भएको अवस्थामा विभिन्न वस्तीहरुमा क्लवको अग्रसरता र पालिकाको आर्थिक सहयोगमा व्यवस्थित खेलमैदान निर्माण भएपछि खेलकुद गतिविधि संचालन गर्न सहज भएको विमवाङ युवा क्लवका अध्यक्ष ओमकार गर्वुजा बताउनुहुन्छ ।
विद्यालय स्तरमा विद्यार्थीहरुलाई खेलकुदमा आकर्षित गरि क्षमता र प्रतिभा प्रस्फुटन गर्ने महत्वपूर्ण पल्याटफर्म राष्ट्रपनि रनिङशिल्ड प्रतियोगिता बनेको छ । गाउँपालिकाले वर्षेनी आयोजना गर्ने अन्तर विद्यालय स्तरीय सो प्रतियोगिताले खेलाडी उत्पादनमा अहम भूमिका खेलेको छ । पालिकाले विद्यालयहरुमा समेत खेलकुद सामग्री सहयोग तथा खेलकुद प्रशिक्षण कार्यक्रमहरुमा सघाउँदै आएको छ । राष्ट्रपति रनिङशिल्डमा पालिका, जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तर सम्म पुगेर उत्कृष्ट पदक जित्ने खेलाडीहरुलाई हौसलाका निम्ती नगद सहित सम्मान गर्दै आएको छ ।
परम्परागत लोक संस्कृतिहरु पालिकाको पहिचान र गौरव भएकाले पालिकाले संरक्षण र प्रवर्धन गर्दै आएको मालिका गाउँपालिकाका अध्यक्ष बेग प्रसाद गर्वुजा बताउनुहुन्छ । मगर खाम भाषाको संरक्षणका लागि स्थानीय पाठ्यक्रम कक्षा १ देखि ३ सम्ममा खाम भाषाको किताव तयार गरिएको अध्यक्ष गर्वुजाको भनाई छ । आगामी दिनमा कक्षा थप गर्दै लगिने योजना रहेको छ । खेलकुद र कला संस्कृतिको विकासका लागि स्थानीय युवा क्लव, आमा समुह, विभिन्न सांस्कृतिक समुहहरुसंग समन्वय र छलफल गरि योजना संचालन गर्ने गाउँपालिकाले नीति लिएको छ ।

प्रतिक्रिया