logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • भत्ता नविकरणका लागि धवलागिरीको घुम्ती शिविरः ६ सय जना लाभान्वित

    • myagdipress myagdipress
    • १ भाद्र २०८२ आईतवार
    भत्ता नविकरणका लागि धवलागिरीको घुम्ती शिविरः ६ सय जना लाभान्वित

    म्याग्दी, १ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिकाले देशका विभिन्न सहरमा घुम्ति शिविर सञ्चालन गरेर छ सय जना भन्दा बढी सर्वसाधारणलाई सेवा प्रवाह गरेको छ ।

    सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नविकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिस लगायत सेवा उपलब्ध गराउन घुम्ति शिविर लिएर जनप्रतिनिधी र कर्मचारी प्रमुख सहर झरेका थिए ।

    घुम्ती शिविरबाट छ सय २३ जनाले सेवा लिएका धवलागिरी गाउँ कार्यपालिकाको प्रवत्ता देवेन्द्र रोकाले जानकारी दिनुभयो । सोमबार र मंगलबार बेनीमा घुम्ति शिविर सञ्चालन गरेको गाउँपालिकाले यसअघि साउन १८ र १९ गते काठमाडौ, २१ र २२ गते पोखरामा आयोजना गरेको थियो । १ देखि ७ नम्बर वडाका त्रमश  ५५, ३९, ७७, एक सय १३, एक सय ३०, एक सय २२ र ८७ जनाले शिविरबाट सेवा लिएका प्रवत्ता रोकाले बताउनुभयो । धवलागिरी म्याग्दीका अन्य स्थानीय तहको तुलनामा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ ।

    जेष्ठ नागरिक, अशक्त र अससायहरुलाई लक्षित गरेर उनिहरु बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नविकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिस सम्बन्धी सेवा दिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो ।

    गाउँपालिकामा नाम भएपनि बजारमा बसोबास गर्ने जेष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरुलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झञ्जट र दुःख हुने भएकाले जनप्रतिनिधी र कर्मचारीनै सहर झरेकाले सेवा प्राप्त गर्न सहज भएको बेनीमा बस्दै आउनुभएका धवलागिरी गाउँपालिका–२ लमसुङका दिलिप शेरचनले बताउनुभयो ।

    गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सेवाग्राहीको सहजताका लागि सात वटै वडाका अध्यक्ष र सचिवहरुले सहरमा पुगेर सेवा दिएका बताउनुभयो । गत आर्थिक वर्षमा धवलागिरीका दुई हजार नौ सय ३८ जनालाई रु १० करोड ५८ लाख चार हजार दुई सय ८८ रपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।

    सेवा, सुविधा र अवसरका लागि सहरबजारमा बसोबास गरेपनि धेरैले औपचारिक रुपमा बसाईसराई गरेका छैनन् । गत आर्थिक वर्षमा धवलागिरीमा ७६ परिवार बसाईसराई गरेर जाँदा १० परिवार आएका थिए ।



    myagdipress myagdipress    
  • १ भाद्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP