म्याग्दी । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा म्याग्दी कारागारबाट फरार भएका मध्ये ४३ जना पुनः कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार आन्दोलनको क्रममा भागेकामध्ये १६ जना आफैं सम्पर्कमा आएका थिए ।
म्याग्दीबाट फरार भएर छिमेकी जिल्ला बागलुङ लगायतका क्षेत्रमा पुगेका कैदीबन्दीलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो । ‘फरार कैदीबन्दीको खोजीकार्य भइरहेको छ, उहाँहरु आफैं आए राम्रो हुन्छ, पक्राउ गरेर ल्याउनुपरेमा थप जरिवाना र सजाय थपिन्छ’ प्रनाउ थापाले भन्नुभयो ।
जिल्ला कारागार शाखाको फितलो समन्वयका कारण विहानपख भागेका कैदीबन्दीहरुको खोजीकार्यमा प्रहरीले साधा पोशाक तथा विशेष यूनिट नै परिचालन गरेको प्रनाउ थापाले बताउनुभयो । ‘हामीले आफैं सम्पर्कमा आउनेलाई सुरक्षित साथ कारागार पठाएका छौ, अन्य जिल्लाबाट फरार भएकालाई सम्बन्धित जिल्लाकै कारागारमा पठाउनेछौ’ प्रनाउ थापाले भन्नुभयो ।
प्रहरीले बाहिर र भित्रबाट योजनाबद्ध तरिकाले कैदीबन्दी भाग्ने योजनामा संलग्नहरुको समेत सिसीटिभी फुटेजबाट खोजी गरिरहेको छ । जेलबाट भगाउन सहयोग गर्नेको समेत सिसीटिभी फुटेजबाट खोजीकार्य भइरहेको छ भने कतिपयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जेलबाट भाग्नु अगाडी ६ जना महिलासहित १२ जना बन्दी मात्रै कारागारमा रहेका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीले काठमाण्डौबाट भागेका १ जना र कास्कीबाट आएका ५ जनालाई समेत जिल्लाको विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको छ । आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई सम्बन्धित कारागार फर्कन प्रहरीले आग्रह गरिसकेको छ ।
प्रतिक्रिया