म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौ अग्लो धौलागिरि हिमालको ६६ औँ आरोहण दिवस बुधबार बिबिध कार्यक्रमका साथ मनाईएको छ ।
८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणको ६६ वर्ष पुगेको अवसरमा मुुदी गाउँमा पदमार्ग र घरबास प्रर्वद्धन तथा पर्वतारोही सम्मान गरेर दिवस मनाइएको हो । कार्यक्रममा सडकका कारण छोटिएको पदमार्ग, जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको असर र विकल्पको खोजीको विषयमा सरोकारवालाहरुले आफ्ना विचार व्यक्त गरेको थिए ।
सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए। उनीसहित डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्जे पहिलोपटक धौलागिरिकोे चुचुरोमा पुगेका थिए ।
गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालय, नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशको सहयोग र धवलागिरी गाउँपालिकाको समन्वयमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) गण्डकीको आयोजनामा दिवस मनाइएको हो ।

समारोहमा गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले धवलागिरि लगायत गण्डकी प्रदेशका हिमालको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्न सके स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याउने गरी पर्यटकको आगमन हुने बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएकी मन्त्री रिमालले पर्यावरण जोगाउन पनि स्थानीयको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । ‘जलवायु परिवर्तनको असर हाम्रो हिमालमा परेको छ,’ उहाँले भन्नुभयो ’हिमालको अस्तित्व जोगिए मात्रै मानव सभ्यताको अस्तित्व जोगिन्छ ।’
प्रदेश सांसद रेशम जुग्जालीले जनताले आफ्नो गाउँमा मोटरबाटो पुगेको एउटै सपना देख्ने भएकाले वैकल्पिक पदयात्रा मार्गको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले धवलागिरि गाउँपालिकामा आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरी योजना बनाउनुपर्ने बताउनुभयो ।
धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुनले हिमाल अवस्थित वडाको भूूगोलमा पहिलो पटक आरोहण दिवस मनाइएको बताउनुभयो । “पहुुँच र पहलको कमीले यसअघिका धौलागिरि आरोहण दिवस पोखरा र काठमाडौमा मनाउने गरिएको थियो,” उहाँले भन्नुभयो धौलागिरि हिमालको पहिचान र म्याग्दीमा रहेको सन्देश प्रवाह गराउन यो कार्यक्रम सफल भएको छ ।”

टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले धवलागिरिलाई एक्यापको मोडेलमा लैजान उपयुक्त हुने बिचार व्यक्त गर्नुभयो । ‘केही परिमार्जन आवश्यक होला,’ उहाँले भन्नुभयो, ’डीक्याप घोषणा गर्न र डीपीआर बनाएर पर्यटनका गतिविधि अघि बढाउनुपर्छ ।’ आरोहण दिवसको अवसरमा पर्वतारोही कृष्ण केसीलाई टान गण्डकीले कदरपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गरेको छ ।
धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड ३४ लाख ५४ हजार ५५० सलामी दस्तुर सङ्कलन गरेको छ । यस यामका लागि कूल चार समूहमा १८ पुरुष र १२ महिला गरी ३० जनाले धौलागिरि अरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । अघिल्लो याममा यो हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए । पर्यटन विभागका अभिलेख अनुुसार ६६ वर्षको अवधीमा सात सय ३३ जनाले धौलागिरि हिमाल आरोहण गरेका छन् ।
प्रतिक्रिया