आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि म्याग्दीमा १३ जनाले उम्मेदवारी दर्ता गरेका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्य पदका लागि जिल्लाबाट २ स्वतन्त्र र ११ दलबाट गरि कुल १३ जनाले मनोनयन दर्ता गराएका हुन ।
मुख्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूको मनोनयनसँगै जिल्लाको राजनीतिक माहोल तातिएको हो । मनोनयन दर्ता गर्नेहरूमा स्थापित दलका नेतादेखि राष्ट्रिय रूपमा चर्चित व्यक्तित्व महावीर पुनसम्म रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार नेकपा एमालेका तर्फबाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका तर्फबाट कर्ण बहादुर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट अर्जुन थापा चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै, नेकपा (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोकाले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक, जेन्जी आन्दोलन पछि वनेको सरकारको शिक्षा मन्त्री समेत रहनुभएका महावीर पुनले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन । अन्य उम्मेदवारहरूः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट डम्बर बहादुर सुवेदी, राष्ट्रिय जनमोर्चाबाट छेम बहादुर वि.क., र प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी पनि चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै, मंगोल नेशनल अर्गनाइजेसनका भिम बहादुर लामा, श्रम संस्कृति पार्टीका विनोद राना, र नेशनल रिपब्लिक नेपालका तुल प्रसाद गर्बुजाले पनि आफ्नो दावेदारी पेश गरेका छन् । स्वतन्त्रतर्फ नविन जि.सी. ले पनि उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया