म्याग्दीमा समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । गत बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा समानुपातिक तर्फको मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपाले १९ हजार ९५७ मत प्राप्त गरी पहिलो भएको हो । मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले दिएको जानकारी अनुसार नेकपा एमालेले ९ हजार ४ सय ५७, नेपाली कांंग्रेसले ७ हजार ५ सय ९४, नेपाली कम्युनिष्ट पार्टी९नेकपा०ले ४ हजार १ सय ६२ मत प्राप्त गरेका छन् ।
श्रम संस्कृति पार्टीले १ हजार ७१५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ सय ४४, राष्ट्रिय मुक्ति पार्टीले ७ सय ६२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले १ सय ७७ मत पाएका छन् । जिल्लामा जम्मा मतदाता ८८ हजार दुई सय ९८ रहेकोमा समानुपातिक तर्फ ४७ हजार ६ सय १६ मत खसेको मध्य एक हजार ७१० मत बदर र ४५ हजार ९०६ मत मतगणना भएको जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले बताउनुभयो । जिल्लाका सबै पालिकाहरुमा रास्वपाले अग्रता लिएको थियो ।
परम्परागत दलहरुले प्रत्यक्षमा जस्तै समानुपातिकतर्फ राम्रो मत पाउन सकेनन् । यसपटक दलको कोर एरिया भनिएका वडाहरुमै प्रत्यक्षमा स्वतन्त्र र सामानुपातिकमा रास्वपाले लोकप्रिय मत प्राप्त गर्न सफल भएको छ ।
समानुपातिक तर्फको मतगणना सकिएसँगै जिल्लामा निर्वाचन सम्बन्धित सम्पूर्ण कामहरु सकिएको छ । दुबैतर्फको मतगणना सम्पन्न भएपछि मुख्य निर्वाचन अधिकृत थापा, प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य सहित सुरक्षा निकायका प्रमुखको उपस्थितीमा स्वच्छ, भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय, मतदाता, पत्रकार लगायत जिल्लावासीलाई धन्यवाद दिइएको थियो ।
प्रतिक्रिया