म्याग्दी । म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–२ मा पर्ने पर्यटकीय स्थल जलजलाको पर्यटन विकासका लागि दुईदिने पर्यटन प्रवर्धन कार्यक्रम गरिएको छ । धौलागिरी गाउँपालिकाको आयोजनामा जेठ १० र ११ गते जिल्ला स्थित विभिन्न सरोकारवालाहरुको उपस्थितिमा पर्यटन प्रवर्धन अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
पर्यटन प्रवद्र्धन कार्यक्रमलाइ सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य एंव पूर्वमन्त्री रेशम जुग्जालीले गुर्जा, जलजला र ढोरपाटनलाई जोडेर ‘ग्रेटर ढोरपाटन’को अवधारणामा यस क्षेत्रको पर्यटन पूर्वाधार निर्माण, प्रचार प्रचार र प्रवद्र्धन अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यले विकासका आधारभूत पूर्वाधार बनाउने र नीजि क्षेत्रले होटललगायतका सुविधा विस्तार गरेमा पर्यटन क्षेत्रमा विकास हुने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले जलजला क्षेत्रलाई पर्यटन, कृषि र पशुपालनको हबको रुपमा विकास गनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका कार्यबहाक प्रमुख डिलकुमारी खत्री, निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ति, तमानखोला गाउँपालिकाका उपाध्यक्ष हिराकुमारी छन्त्याल, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी क्षेत्री, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम लगायतले मन्तव्य राख्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा स्थानीयले जलजलामा पर्यटन विकासका लागि पूर्वाधार निर्माणमा जोड दिन आग्रह गरेका थिए । सडक सुविधा पुगेसंगै पर्यटकहरुको चहलपहल वढ्न थालेकाले त्यस क्षेत्रमा पर्यटन आवासगृह निर्माण, खानेपानी, शौचालय लगायतको प्रवन्ध, मोवाईल नेटवर्क तथा विद्युतका लागि सोलार जडान लगायतका पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न स्थानीले सुझाव दिएका थिए ।
धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुनले जलजलाको विकासका लागि पालिकाले योजनावद्ध रुपमा कार्य योजना अघि सारेको बताउनुभयो । उहाँले यसवर्ष सडक संजालले जोडिएसंगै अव पर्यटकलाई लक्षित गर्दै भौतिक संरचना निर्माणमा जोड दिईने बताउनुभयो । उहाँले संरचना निर्माणका लागि शिकार आरक्षसंग पनि आवश्यक समन्वय भईरहेको बताउनुभयो ।
कार्यक्रममा जलजला क्षेत्रको पर्यटन प्रचार प्रसारमा योगदान दिएको भन्दै नेपाल पत्रकार महासंघ म्याग्दी, पत्रकार सन्तोष गौतम, मोटो भलगर विविदजंग थापा, कन्टेन्ट क्रियटर सपना रोका मगर, सन्दिप शर्मा र सिर्जना सिर्जुलाई सम्मान गरिएको थियो । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरको स्वागत र पत्रकार अमित विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
समुन्द्री सतहदेखि ३ हजार ४ सय १८ मिटरको उचाईमा रहेको जलजलाबाट दर्जनौ हिमश्रृङखलाहरुको सुन्दर दृश्यावलोकन गर्नुका साथै हरिया खर्क तथा जैविक र प्राकृतिक विविधता महशुस गर्न पाईन्छ ।

प्रतिक्रिया