logo
  • ३० जेष्ठ २०८३, शनिबार | Sat, 13 Jun 2026
  • मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा

    • myagdipress myagdipress
    • २३ जेष्ठ २०८३ शनिबार
    मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा

    म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको छ । मगर समुदायको बाहुल्यता रहेका बस्तीका १४ वटा विद्यालयमा कक्षा १ मा मगर खाम भाषामा पठनपाठन गराउन थालिएको हो।

    रघुगङ्गा गाउँपालिकाको सहयोगमा नेपाल पुनमगर समाजले तयार पारेको ‘गेमीं मगर खाम’ पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।“मगर खाम भाषाको संरक्षण, पुनरुत्थान र अन्तरपुस्ता हस्तान्तरणको लागि पुस्तक तयार पारेर पठनपाठन सुरु गरिएको हो”, उहाँले भन्नुभयो, “बालबालिकालाई दैनिक बोलीचाली र जीवनयापनमा बढी प्रयोग हुने शब्दावलीलाई पुस्तकमा समेटिएको छ।”

    मगर खाम भाषा पठनपाठनका लागि जनशक्ति तयार पार्ने र क्षमता विकास गर्ने उद्देश्यले यसअघि शिक्षकलाई सातदिने तालिम प्रदान गरिएको थियो ।

    नेपाल पुनमगर समाज रघुगङ्गाका अध्यक्ष टीका पुर्जा पुनले मगर भाषाको महत्वलाई उजागर गरी नयाँ पुस्तालाई भाषाको ज्ञान दिन मातृ भाषामा पठनपाठन सुरु गरिएको बताउनुभयो ।

    महादेव मावि, पार्वती आधारभूत, कालिका मावि, जनता मावि, शिव आधारभूत, अमर मावि ९चिमखोला०, सिद्ध आधारभूत, महेन्द्र मावि, शिशुकल्याण आधारभूत, अमर मावि ९पाखापानी०, हरि आधारभूत, रायखोर र जनआदर्श आधारभूत विद्यालयमा मगर भाषामा पठनपान सुरु भएको उहाँले जानकारी दिनुभयो ।

    नेपाल एकीकरणको समयदेखि तत्कालीन रिडीखोला÷कालीगण्डकी नदीबाट पूर्वका १२ र पश्चिमका १८ मगर राज्यहरूको अस्तित्व मेटिएसँगै मगर खाम भाषा र लिपिको इतिहास मेटिँदै गएको जानकारहरू बताउँछन् ।

    रघुगङ्गा(१, ४, ५, ६ र ७ वडामा मगर समुदायको बाहुल्य बसोबास छ । वडा नं ८ कुइनेमङ्गले र वडा नं ६ को ठाँडाखानीमा अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास छ ।

    गाउँपालिकाका अध्यक्ष भण्डारीले छन्त्याल भाषामा पनि पठनपाठन गराउन पहल भएको बताउनुभयो । वडा नं २ भगवती र वडा नं ३ पिप्लेमा क्षेत्री, दलित, ब्राह्मण र ठकुरी समुदायको बसोबास छ । रासस



    myagdipress myagdipress    
  • २३ जेष्ठ २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP