logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • नारच्याङमा मनाइयो ७६ औं अन्नपूर्ण हिमाल आरोहण दिवस

    • myagdipress myagdipress
    • २० जेष्ठ २०८३ बुधबार
    नारच्याङमा मनाइयो ७६ औं अन्नपूर्ण हिमाल आरोहण दिवस

    म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको अवसरमा बुधबार विविध कार्यक्रम गरी मनाइएको छ । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज ७६ वर्ष पूरा भएको अवसरमा वडा कार्यालयद्वारा आयोजित कार्यक्रमको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले उद्घाटन गर्नुभएको थियो ।

    हिमालको आधार शिविर म्याग्दीको नारच्याङमा रहेपनि कास्की, मनाङ र मुस्ताङ जिल्लामा फैलिएको८ हजार मिटरभन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्ण जेठो हिमाल भएकाले पूर्वाधार विस्तारमा प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।

    सोही अवसरमा प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य, राष्ट्रि«य स्वतन्त्र पार्टी म्याग्दीका सचिव राजाराम बरुवाल, नेकपा एमालेका उपसचिव खड्ग गिरी,पर्यटन अभियान्ता तेज गुरूङ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, अन्नपूर्ण हिमाल अरोही मायाँ शेर्पाले अन्नपूर्ण हिमाल पर्यटन प्रर्वधनका लागि उत्कृष्ट गन्तब्य रहेको बताउनुभएको थियो ।

    ३ जुन १९५० मा फ्रान्सका मोरिस हर्जोग र लुई लासेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

    नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी दिवस मनाइएको वडा अध्यक्ष लोक बहादुर फगामीले बताउनुभयो । वडा सदस्य श्याम पूर्जाको स्वागत, सुवाश विश्वकर्माको सञ्चालन भएको कार्यत्रमकामा सोरथीसहित विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।

    सोही अवसरमा अभियान्ता तेज गुरुङ, चित्र तिलिजा, इन्द्रसिह शेरचन, अन्नपूर्ण आरोही मायाँ शेर्पा, छवाङ शेर्पा, नेपाल पत्रकार महासंघ म्याग्दी र फोटो पत्रकार सुरेन गुरुङलाई सम्मान गरिएको थियो ।

    अन्नपूर्ण हिमालमा अघिल्लो वर्षसम्म ५३६ जनाले आरोहण गरेको अन्नपूर्ण हिमाल चढ्नका लागि यस वर्षको वसन्तयाममा चारवटा समूहका २७ जनाले अनुमति लिएका थिए । अन्नपूर्ण डेको अवसरमा आधार शिविरदेखि नारच्याङसम्म ३६ किलोमिटर दूरीमा दौड, सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण समारोह समेत गरिएको थियो ।

    नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा नक्साङ्कन र ‘मौरिस हेर्जोग’ नामाकरण गरेको थियो ।



    myagdipress myagdipress    
  • २० जेष्ठ २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP