काठमाडौं । म्याग्दीका ३३ वर्षीय सुजन छन्त्यालको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
धवलागिरी गाउँपालिका–५, मलम्पारका छन्त्याल काठमाडौंको टोखा नगरपालिका–९, गोंगबुमा अचेत अवस्थामा भेटिएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
घटनास्थल आसपासको सिसिटिभी फुटेजमा देखिएका दुई युवालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले भने उनीहरूको परिचय तथा घटनामा संलग्नताको विषयमा हालसम्म औपचारिक विवरण सार्वजनिक गरेको छैन ।
छन्त्यालको पोस्टमार्टमका क्रममा टाउकोमा रगत जमेको तथा सानो घाउसमेत देखिएको बताइएको छ । शरीरका अन्य भागमा भने उल्लेखनीय चोटपटक नदेखिएको जनाइएको छ । यही अवस्थाका कारण मृत्युको कारणबारे थप अनुसन्धान आवश्यक देखिएको आफन्तले बताएका छन् ।
छन्त्याल आइतबार बिहान करिब ३ बजेपछि साथीहरूको सम्पर्कबाट बाहिरिएका थिए । उनी संघ कास्कीका अध्यक्षसमेत रहेको बताइएको छ । घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले सिसिटिभि फुटेजलगायत अन्य प्रमाणका आधारमा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया