logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • बेनीको संघीय खानेपानी कार्यालय खारेजीको निर्णय फिर्ता लिन माग गर्दै तालाबन्दी

    • myagdipress myagdipress
    • ३१ असार २०८२ मंगलवार
    बेनीको संघीय खानेपानी कार्यालय खारेजीको निर्णय फिर्ता लिन माग गर्दै तालाबन्दी

    म्याग्दी, ३१ असार । म्याग्दीमा रहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेजीको निर्णय सच्याउन माग गर्दै म्याग्दीका राजनीतिक दलहरुले विरोध स्वरुप मंगलबार कार्यालयमा तालाबन्दी गरेका छन ।

    जिल्ला समन्वय समितिका कार्यावाहक प्रमुख डिलकुमारी खत्री, नेपाली काँग्रेसका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, नेकपा एमालेका उपसचिव खड्क गिरी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शेर बहादुर केसी, राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीका अध्यक्ष युवराज रोका, राप्रपाका सञ्जु वरुवाल, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुन लगायतको टोलीले कार्यालयमा तालावन्दी गर्नुभएको हो ।

    जिसस कार्यवाहक प्रमुख दिलकुमारी खत्रीले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय बेनीबाट हटाउने मन्त्रालयको निर्णय गलत भएको भन्दै त्यसको विरोध स्वरुप कार्यालयमा तालाबन्दी गरेको बताउनुभयो । यसै विषयमा सोमवार जिल्ला समन्वय समितिमा सर्वदलीय वैठक वसेर कार्यालय खारेजी गर्ने मन्त्रालयको निर्णय फिर्ता गराउन दवाव सृजना गर्ने निर्णय गरिएको थियो ।

    खानेपानी मन्त्रालयको गत २०८१ चैत १९ को मन्त्रीस्तरीय निर्णयअनुसार आगामी साउन १ गतेदेखि बेनीमा रहेको कार्यालय पोखरामा गाभिन निर्णय गरेपछि सोमबार जिल्ला समन्वय समितिमा बसेको सर्वदलीय बैठकले हाल जिल्लामा सञ्चालनमा रहेको बृहत घोप्टेखोला खानेपानी, बृहत चिमखोला भगवती खानेपानी लगायतका आयोजनाहरुलाई प्रत्यक्ष असर गर्ने भएकाले निर्णयलाई तत्काल स्थगित गर्न माग गरेको थियो ।

    हिमाली जिल्लामा आयोजना थप गर्नुपर्नेमा उल्टै कार्यालय लैजाने प्रक्रियालाई तत्काल रोक्न आवश्यक थप कदम चाल्ने नेपाली काँग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठले बताउनुभयो ।

    म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लामा सङ्घीय सरकारले सञ्चालन गरेका खानेपानी तथा ढल ब्यवस्थापनसम्बन्धी आयोजना कार्यान्वयनका लागि विसं २०७७ मा बेनीमा कार्यालय स्थापना गरिएको थियो ।

    यसअगाडी जिल्लाबाट भु संरक्षण कार्यालय पर्वत स्थानान्तर हुदाँ जिल्लामा अहिले बजेट समेत न्युन छ भने भु संरक्षणका गतिविधि समेत सुस्त गतिमा रहेको छ । कार्यालयमार्फत हिमाली जिल्लामा एक हजार र पहाडीमा पाँच हजार बढी जनसङ्ख्या भएका खानेपानीका साथै ढल ब्यवस्थापनसम्बन्धी आयोजना कार्यन्वयन हुने नीतिगत व्यवस्था छ ।

    कार्यालयमा सिनियर डिभिजनल इञ्जिनियरको नेतृत्वमा तीन इन्जिनियर, तीन सव–इन्जिनियर, एक लेखापाल, एक नायव सुब्बा, एक कम्प्युटर अपरेटर, एक कार्यालय सहयोगी र एक जना हलुका सवारी चालकको दरबन्दी छ ।

     

     

     

     

     



    myagdipress myagdipress    
  • ३१ असार २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP