म्याग्दी । जवरजस्ती करणी र कर्तव्य ज्यानका फरार एक अभियुक्तलाई म्याग्दी प्रहरीले २० बर्षपछि पक्राउ गरेको छ । जिल्लाको बेनी नगरपालिका–६, साविक अर्थुङ्गे गाविस–८,माझखेत बस्ने ६५ बर्षिय कर्ण बहादुर घर्ती क्षेत्रीको हत्यामा संलग्न ४२ बर्षिय ठहर बहादुर घर्तीलाई गएको कात्तिक १ गते घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त खत्रीले २०६२ साल भदौ ६ गते घर बाहिर सुतिरहेको अवस्थामा कर्णबहादुरको चिर्पट प्रहार गरी हत्या गरेको र निजकी श्रीमति इन्द्रकुमारी घर्ती क्षेत्रीलाई घाईते बनाएर कान र घाँटिमा लगाएका सुनका गरगहना रिङ र तिलहरी समेत लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो ।
‘अभियुक्त जबरजस्ती करणी मुद्दामा पनि दोषी ठहर भएका थिए, घटनामा अभियुक्तले आफ्नो संलग्नता स्वीकार गरेका छन्, उनको संलग्नता देखिएपछि अब कर्तब्य ज्यान मुद्धामा अनुसन्धान सुरू हुन्छ’ प्रनाउ थापाले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आयोजित पत्रकार सम्मेलनमा प्रनाउ थापाले दिनुभएको जानकारी अनुसार अभियुक्त क्षेत्री जबरजस्ती करणी मुद्दामा पुर्पक्षमा जिल्ला कारागारमा रहेको अवस्थामा ०६० साल चैत्र ७ गते बेनी आक्रमणको क्रममा भागेका थिए ।

बि.स ०५९ पुस महिनामा क्षेत्री जवरजस्ती करणी मुद्धामा कारागार चलान भएकोमा ०६६ साल जेठ १६ गते म्याग्दी जिल्ला अदालतबाट जवरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय फैसला भएकोमा ८ बर्ष ९ महिना ५ दिन कैद भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्त क्षेत्रीलाई जवरजस्ती करणीसँगै अब कर्तब्य ज्यान मुद्धामा थप सजाय थपिने छ ।
घटनापछि अभियुक्त क्षेत्री भारतको मुम्बईमा ५ बर्ष बसेर भारतीयसँग विवाह गरी २०६७ सालमा पोखराको पिएन क्याम्पस अगाडी विद्यर्थी खाजा घर सञ्चालन गरेका थिए । हाल ज्यामी तथा मिस्त्रीको कामका लागि पोखरा, स्याङ्जा, डुम्रे, गोरखा, दरवाङ लगायतका क्षेत्रमा पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
अभियुक्त क्षेत्री ०८२ असार महिना देखी गाउँघरमा लुकिछिपी आउने र रातको समयमा बसेर जाने गरेको सूचनाको आधारमा प्रनाउ थापाको नेतृत्वमा गएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया