म्याग्दी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबारदेखि औपचारिक रुपमा दलहरु चुनावी प्रचारप्रसारमा जुटेका छन ।
मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने भएकाले यो अवधिमा निर्वाचन आचारसहिंताको पूर्ण पालनाका लागि सबै पक्षलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।
जिल्ला निर्वाचन आचारसहिंता अनुगमन अधिकृत समेत रहनुभएका आचार्यले यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सकिने बताउनुभयो । निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न समेत आचार्यले अनुरोध गर्नुभयो ।
दल र उम्मेदवारले तोकिएको मापदण्डका आधारमा पत्रपत्रिकाका साथै ‘अनलाइन’ सञ्चारमाध्यममा पनि विज्ञापनवाट प्रचारप्रसार गर्न सक्नेछन् । निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।
आचारसंहिता अनुसार प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग गर्न, निषेधित सामग्री प्रदर्शन गर्न, जातीय, धार्मिक वा साम्प्रदायिक सद्भाव बिग्रने अभिव्यक्ति दिन, अन्य दल वा उम्मेदवारप्रति गालीगलौज तथा चरित्रहत्या गर्न नपाइने सूचनामा उल्लेख गरिएको छ ।
सामाजिक संघसंस्था, आमा समूह, क्लब, गैरसरकारी संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण, आर्थिक सहायता, चन्दा, पुरस्कार वा भोजभतेरको गर्नसमेत रोक लगाइएको छ । दलको झण्डा तथा चुनाव चिन्ह अंकित तोरण वा संरचना सार्वजनिक स्थलमा राख्न नपाइने, भित्तेलेखन गर्न नपाइने र कुनै पनि धर्मको नाममा प्रचार गर्न नहुने सूचनामा उल्लेख छ । निर्वाचन प्रचारप्रसारको कार्यक्रम बिहान ७ देखि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ
प्रतिक्रिया