म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर २ रिसिनचौतारी निवासी रत्नखर शर्मा उमेरले ७१ वर्ष पुग्नुभयो । उहाँकै भाषामा भन्ने हो भने यो उमेर ३ मुरी ११ पाथी भयो । उमेरसँगै शरीरमा बुढ्यौली लागेपछि पहिलेझैँ काम गर्न सक्ने अवस्था छैन । आम्दानीको छुट्टै श्रोत पनि छैन । नत यस्तै उमेरमा पनि टकानटुकुन गर्न सकिने कुनै सिप नै छ उहाँ संग । खर्चका लागि छोराछोरीलाई पैसा माग्ने बानी नभएका शर्मालाई विगत ३ वर्ष यता भने रघुगंगा गाउँपालिकाले उपलब्ध गराउने सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक भत्ताले उहाँको व्यक्तिगत खर्च चलाउन सहज भएको छ । प्रत्येक त्रैमासिकमा उहाँले ज्येष्ठ नागरिक भत्ता वापत १२ हजार रुपैयाँ घरमै प्राप्त गर्नुहुन्छ, सो रकमले मन लागेको कुरा खाने, मन लागेको कपडा किन्ने तथा घरखर्चका लागि परिवारमा समेत खर्च गर्दै आउनुभएको छ । बढ्दो उमेरसँगै काम गर्ने क्षमता घटे पनि सामाजिक सुरक्षा भत्ताले उहाँको दैनिक जीवन सहज बनाएको छ ।
सोही ठाउँका ७३ वर्षिय कविराज खड्काको भने कथा बेग्लै छ । आफ्नो घर २०७२ सालको भुकम्पले भत्काईदिएपछि आफनो भान्जाको घरमा वस्दै आउनुभएका खड्का घरमा एक्लै हुनुहुन्छ । उहाँ अझै सम्म अविवाहित हुनुहुन्छ । किन विहे नगरि वस्नुभयो नि भन्ने प्रश्नमा खड्काको जबाफ भने वेग्लै छ । “जवानीमा विवाह गर्ने सोच नै आएन, वुढेशकाल लागेपछि श्रीमतिको साहारा र साथको आवश्यकता महशुस त भयो तर अव के गर्ने, मलाई यस्तै ठिक छ एक्लो ज्यान आनन्दै हुन्छ” ।
खड्काको यो उमेरको मुख्य आम्दानीको श्रोत भनेकै सामाजिक सुरक्षा अन्तर्गतको ज्येष्ठ नागरिक भत्ता वापत उहाँले पालिकाबाट पाउने रकम हो । उहाँले मासिक ४ हजारका दरले प्रत्येक त्रैमासिक रुपमा १२ हजार रुपैयाँ गाउँमै बुझ्नुहुन्छ र त्यहि रकमले घरखर्च चलाउनुहुन्छ । परिवारको सहारा नभएपनि राज्यले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ताले वृद्धावस्थामा आत्मनिर्भर भएर बाँच्न मद्दत पुगेको उहाँको अनुभव छ । शर्मा र खड्का जस्तै रघुगंगाका धेरै ज्येष्ठ नागरिक, एकल महिला, विधवा तथा अशक्त, अपाङ्गगहरुलाई सामाजिक सुरक्षा भत्ता जीवन जीउने साहारा बनेको छ ।

क–कस्ले प्राप्त गर्छन त सामाजिक सुरक्षा भत्ता–
रघुगंगा गाउँपालिकाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक अन्य, ज्येष्ठ नागरिक दलित, ज्येष्ठ नागरिक एकल महिला, विधवा महिला, अशक्त अपाङ्गता, अति अशक्त अपाङ्गगता र बालपोषण भत्ता गरि ७ वटा लक्षित समुहहरुलाई भत्ता वितरण गर्दै आएको छ । भत्ता प्राप्त गर्ने लाभग्राहीहरु पालिकामा ३ हजार देखि ३१ सय सम्म रहेका छन । चालु आर्थिक वर्षमा पालिकाले कुल १० करोड ८८ लाख ३८ हजार रुपैयाँ बजेट सामाजिक सुरक्षा भत्ता वितरणका लागि विनियोजन गरेको छ ।
हाल सम्म पालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २९५२ जना, दोस्रोमा ३०३१ जना र तेस्रोमा ३०४० जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता बुझाएको छ । सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रुमख वसुता पुन मगरले दिनुभएको जानकारी अनुसार तेस्रो त्रैमासिक सम्ममा ८ करोड, ६८ लाख ४८ हजार दुई सय तीस रुपैयाँ भत्ता वितरण गरिएको छ । चौथो तथा अन्तिम किस्ताका लागि बजेट अपुग हुने देखिएपछि संघीय सरकारसंग थप वजेटको माग गरिएको छ ।
कतिले गरे भत्ता नविकरण–
चालु आर्थिक वर्षमा सातै प्रकारका लक्षित समुहहरु कुल २९५२ जनाले पालिका मार्फत सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गराएका छन । पालिकाले प्रत्येक आर्थिक वर्षको साउन देखि असोज मसान्त सम्म वडा मार्फत भत्ता नविकरण गर्नुपर्ने प्रावधान बनाएको छ । तोकिएको समय सिमाभित्र भत्ता नविकरण नभएमा के हुन्छ त भन्ने प्रश्नको जवाफमा पञ्जिकरण शाखा प्रमुख वसुता पुन भन्नुहुन्छ, “नविकरण त समय अवधि कटेपनि गर्न सकिन्छ तर उहाँहरुको भत्ता रकम भने नविकरण भएको मिति देखि मात्रै लागु हुन्छ” । नयाँ बच्चा जन्मिनु, वसाई सराई गरेर जानु या आउनु, एकल महिलाले विवाह गर्नु, लाभग्राहीको मृत्यू हुनु, दोहोरो सुविधा लिनेहरुको पहिचान हुनु, नविकरण ढिलो हुनु बालबालिकाको उमेर ५ वर्ष पुग्नु लगायतका अवस्थामा त्रैमासिक रुपमा लाभग्राहीको संख्यामा पनि घटवढ हुन सक्ने पुनको भनाई छ ।
पालिकाको वडा नम्वर १ बेग, ४ दग्नाम, ५ झिँ, ६ पाखापानी, ७ चिम्खोला र ८ कुईनेमंगलेको वडा कार्यालयले पोखरा, काठमाडौँ लगायतका स्थानमा रहेका वडा बासीहरुको सोही ठाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण समेत गर्दै आएको छ ।
कुन लाभग्राहीले कति भत्ता प्राप्त गर्छन ?
हाल नेपाल सरकारले ज्येष्ठ नागरिक अन्य ६८ वर्ष माथिकलाई मासिक रु ४,०००, ज्येष्ठ नागरिक दलितलाई ६० वर्षदेखि ६८ वर्ष सम्म रु २,६६०, ज्येष्ठ नागरिक एकल महिला रु २,६६०, विधवा महिला रु २,६६०, पूर्ण अशक्त अपाङ्गतालाई मासिक रु ३,९९०, अति अशक्त अपाङ्गतालाई मासिक रु २,१२८ र वालपोषण भत्ता जन्मेदेखि ५ वर्ष सम्म रु ५३२ का दरले उपलब्ध गराउँदै आएको छ । सो भत्ता रकम गाउँपालिकाले विद्युतीय भुक्तानीको माध्यममार्फत सिधै लाभग्राहीको खातामा पठाउने व्यवस्था गरेको छ । वडा कार्यालयले प्रभु वैँक संग समन्वय गरि टोलटोलमा पुगेर भत्ता वितरण गर्दै आएको छ । हिड्न नसक्ने शारिरीक रुपमा अशक्त लाभग्राहीको घरमै पुगेर पनि भत्ता रकम प्रदान गर्ने गरिएको रघुगंगा गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष मन कुमार शेरपुञ्जाको भनाई छ । टोलमै भत्ता वुझ्न पाउँदा ज्येष्ठ नागरिकहरुलाई सहज भएको छ ।

रघुगंगामा संचालित सहकारीको अवस्था–
रघुगंगा गाउँपालिकाले नियमन गर्ने गरि पालिका भित्र १८ वटा सहकारी संस्था रहेकोमा हाल ९ वटा सहकारी संस्था संचालनमा रहेका छन । वाँकी ९ वटा सहकारी संस्था भने निस्कृय रहेका छन । वडा नम्वर १ को शिवशक्ति महिला विकास वहुउदेश्यीय सहकारी संस्था, वडा नम्वर २ को मिलन महिला बचत तथा क्रृण सहकारी संस्था, वडा नम्वर ३ को पिप्ले महिला विकास वहुउदेश्यीय सहकारी संस्था, वडा नम्वर ४ को धौलागिरी महिला विकास वहुउदेश्यीय सहकारी संस्था, वडा नम्वर ५ को देउराली महिला बचत तथा क्रृण सहकारी संस्था, वडा नम्वर ६ को रघुगंगा महिला विकास बचत तथा क्रृण सहकारी संस्था, वडा नम्वर ७ को हिमालयन महिला बचत तथा क्रृण सहकारी संस्था र वडा नम्वर ८ को झिंखानी महिला बचत तथा क्रृण सहकारी संस्था हाल संचालनमा रहेका छन । त्यस्तै वडा नम्वर ५ झिँ मा झिँ ग्रामिण विद्युत सहकारी संस्था पनि संचालनमा रहेको छ ।
तत्कालिन जिल्ला विकास समितिको समन्वयमा महिला विकास कार्यालय र सहमति संस्थाको पहलमा रघुगंगा गाउँपालिकाभित्र महिलाहरुको आयआर्जनका निम्ती लगानी गर्ने, उनिहरुबाटै घरायसी खर्च कटाई बचेको रकम बचत गर्ने उदेश्य राखेर सहकारी संस्था दर्ता गरिएको थियो । संघीयता पश्चात ती सहकारीहरु गाउँपालिकामा हस्तान्तरण भएका हुन । सवै सहकारीहरुले मुख्यतया बचत तथा क्रृणको कारोबार गर्दै आएका छन । सक्रिय अवस्थामा रहेका १ ग्रामिण विद्युत सहितको ८ वटा सहकारीहरु पालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेर संचालन भएको गाउँपालिकाको प्रशासकीय अधिकृत तथा सहकारी शाखा प्रमुख पदम भण्डारीको भनाई छ । उहाँका अनुसार सहकारीको बचत फिर्ता तथा अन्य समस्याका लागि पालिकामा सहकारी सम्वन्धी कुनै पनि उजुरी परेको छैन । हाल सक्रिय रुपमा संचालनमा रहेका सहकारीहरुले पालिकामा वार्षिक रुपमा रिपोर्ट बुझाईरहेका छन । त्यस्तै पालिका भित्र संचालनमा रहेका अरु ३ वटा सहकारी भने प्रदेशको क्षेत्राधिकार भित्र छन । ति सहकारी मध्य भूपू सैनिक र मुक्तिनाथ सहकारीले मौवाफाँटमा र पश्चिम म्याग्दीले भगवतिमा शाखा राखेका छन ।

कसरी संचालन भएका छन त सहकारी ?
यहाँका सहकारीहरु सवै महिलाको व्यवस्थापनमा संचालन भएका छन । शेयर सदस्यहरु प्नि महिला नै रहेका छन । ९४३ जना शेयर सदस्य रहेको पिप्ले महिला वहुउदेश्यीय सहकारीमा महिलाहरुले मासिक रुपमा ५ हजार रुपैयाँ सम्म बचत गर्ने गर्दछन । सहकारीमा आवद्ध महिला दिदीवहिनीहरुले घरखर्च कटाएर भविस्यका लागि सहकारीमा बचत गर्ने बानीको विकास भएको सहकारीकी अध्यक्ष जीवन कुमारी सिंह शाहीको भनाई छ । ८ वटै वडामा रहेका महिला सहकारीले अध्ययन तथा रोजगारका लागि जापान, अष्ट्रेलिया लागायतका देशमा जाने शेयर सदस्यका छोराछोरीलाई सहुलियत व्याजदरमा विना धितो क्रृण प्रवाह गरि सघाएको छ भने व्यवसायिक कृषि तथा अन्य घरेलु उद्योग तथा व्यवसाय संचालनका लागि पनि लगानी गरेको छ ।
हाल देशव्यापी रुपमा सहकारीहरुमा समस्या उत्पन्न भएको अवस्थामा रघुगंगामा रहेका सहकारी भने समस्या रहित तवरले संचालन भईरहेका छन । बचतकर्ताले बचत फिर्ता गर्न चाहे भनेकै समयमा दिन सकिने अवस्थामा यहाँ संचालित सहकारीहरु छन । क्रृणीहरुले पनि व्याज नियमित चलाईरहेका छन । अवधि पुगेको सावाँ पनि वुझाउने गरेका छन । एकादुई क्रृणीहरुबाट भने समस्या उत्पन्न भएको देउराली बचत तथा क्रृण सहकारी संस्था झिँ कि अध्यक्ष श्रीमाया शेरपुन्जाको भनाई छ ।

सहकारी व्यवस्थापनका लागि पालिकाले के गरेको छ त ?
पालिकाले सहकारीलाई व्यवस्थित संचालनका लागि संचालक तथा व्यवस्थापक र कर्मचारीहरुलाई समेत क्षमता अभिवृद्धिका तालिमहरु वर्षेनी संचालन गर्दै आएको छ । चालु आर्थिक वर्षमा पनि गत वैशाख २५,२६ र २७ गते पालिकाको सभाहलमा सहकारी तथा गरिवि सम्वन्धी व्यवस्थापन सूचना प्रणाली (कोकोमिस), संस्थागत क्षमता विकास सम्वन्धी तालिम प्रदान गरेको छ । तालिममा सहकारीका संचालक तथा व्यवस्थापकहरुको सक्रिय सहभागिता रहेको थियो ।
सामाजिक सुरक्षा भत्ता र सहकारी क्षेत्रलाई स्थानीय सरकारको सेवा प्रवाह तथा आर्थिक सशक्तीकरणका महत्वपूर्ण आधारका रूपमा लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल बताउनुहुन्छ । सामाजिक सुरक्षा भत्ता राज्यले नागरिकलाई प्रदान गर्ने संवैधानिक तथा आधारभूत सामाजिक सुरक्षाको व्यवस्था भएकाले भत्ता वितरणलाई पारदर्शी, व्यवस्थित र लाभग्राहीमैत्री बनाउन गाउँपालिकाले विद्युतीय भुक्तानी प्रणालीमार्फत रकम सिधै लाभग्राहीको खातामा पठाउने व्यवस्था मिलाएको उहाँको भनाई छ ।
“सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाको जीवनयापनमा महत्वपूर्ण टेवा पु¥याएकोले यसको प्रभावकारी रूपमा कार्यान्वयन गर्नु गाउँपालिकाको प्राथमिकता हो”, प्रमुख प्रशासकीय अधिकृत पौडेल भन्नुहुन्छ ।
स्थानीय स्तरमा बचत परिचालन, उद्यमशीलता विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहकारी संस्थाहरूको महत्वपूर्ण भूमिका रहेकाले सहकारीहरूलाई सुशासित, उत्तरदायी र दिगो बनाउन गाउँपालिकाले नियमित अनुगमन, सहजीकरण तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष भव वहादुर भण्डारीको भनाई छ ।
सहकारी संस्थाप्रति नागरिकको विश्वास कायम राख्नु आजको आवश्यकता हो । त्यसका लागि सुशासन, पारदर्शिता र दक्ष व्यवस्थापन अपरिहार्य छन । त्यस्तै, सहकारी केवल बचत र ऋणको माध्यम मात्र होइन, सामाजिक एकता र सहकार्यको थलो पनि हो । सहकारीमार्फत महिलाहरूबीच आपसी सहयोग, विश्वास, अनुभव आदानप्रदान र एकताको भावना विकास हुन्छ । सामूहिक रूपमा काम गर्ने संस्कारले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्छ । त्यसैले आजको सानो बचतले भोलिको सुरक्षित र सुखद भविष्य निर्माण गर्न सक्ने भएकाले महिला दिदीबहिनीहरू सहकारीमा आवद्ध हुनु आवश्यक छ ।
सहकारी र सामाजिक सुरक्षा दुवै कार्यक्रम नागरिकको जीवनस्तर सुधारसँग प्रत्यक्ष जोडिएका विषय भएकाले गाउँपालिकाले यी क्षेत्रलाई थप प्रभावकारी बनाउँदै लैजाने नीति अवलम्बन गरेको छ ।

प्रतिक्रिया