म्याग्दी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि दश लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार शाखामा आयोजित कार्यक्रममा जिल्लाका क्रियाशिल २१ जना पत्रकारको दुर्घटना बिमा तथा आर्थिक सहयोग गरिएको हो । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, शाखा अध्यक्ष हरिकृष्ण गौतम, संस्थापक अध्यक्ष धनश्याक खड्काले पत्रकारलाई दुर्घटना बिमा हस्तान्तरण गरेका थिए ।
म्याग्दीका तीन वर्षदेखि क्रियाशील पत्रकारहरूको दुर्घटना बीमा गरिएको छ । दुर्घटना बिमाका लागि शिखर इन्स्योरेन्ससँग सम्झौता गरिएको छ । यो योजनाअन्तर्गत पत्रकारहरू कार्यक्षेत्रमा खटिएका बेला वा अन्य पेशागत कार्यका क्रममा दुर्घटनामा परेमा मृत्यु वा पूर्ण अशक्तताका लागि दश लाख रुपैयाँसम्म र घाइते भएमा उपचारका लागि एक लाख रुपैयाँसम्मको लाभ प्रदान गरिनेछ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष पौडेलले पत्रकारको पेशागत सुरक्षाका लागि नयाँ कार्यसमितिका कार्यहरु प्रशंसनीय भएको बताउनुभयो । ‘कसैको पनि दुर्घटना नहोस् भन्ने हाम्रो कामना हो, तर आकस्मिक घटनामा राहत प्रदान गर्न यो बीमा योजना उत्कृष्ट छ ।’ प्रमुख अतिथि पौडेलले भन्नुभयो ।

यसैबीच मृगौला रोगबाट ग्रसित म्याग्दीकाली एफएमका कार्यरत सञ्चारकर्मी दिपा बुढाथोकीकी आमा लिला पुनको उपचारका लागि पत्रकार महासंघको आपतकालिन कोषबाट ३२ हजार ५ सय सहयोग हस्तान्तरण गरिएको छ । पत्रकार महासंघले सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरुका साथै परिवारका सदस्य वा कुनै समस्या परेमा कोषमार्फत सहयोग गर्ने छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता गौतम, स्वागत उपाध्यक्ष अमित विश्वकर्मा र सञ्चालन सचिव ठाकुरप्रसाद आचार्यले गरेका थिए । जिल्ला शाखा म्याग्दीका अध्यक्ष गौतमले पत्रकार तथा परिवारका सदस्यलाई समेत महासंघमार्फत सहयोग उपलब्ध गराउने बताउँदै पेशागत क्षमताका लागि समते निरन्तर सक्रिय हुने बताउनुभयो ।
बि.स २०८१ साल मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिले हालसम्म नयाँ पत्रकार उत्पादन र पत्रकारिता क्षेत्रको क्षमता विकासका लागि पत्रकारिता पाठशालामार्फत तालिम, सूचना तथा प्रसार विभागबाट प्रेस कार्ड सहित घुम्ती शिविर, स्थापना दिवसको अवसरमा फुटसल प्रतियोगिता, हिमाली जिल्ला अन्तरगत म्याग्दीका सञ्चारमाध्यमहरुलाई सुविधाको माग सहित विभिन्न कार्यक्रमहरु गरेको छ ।

प्रतिक्रिया