म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ स्थित एकराते छहरा खोलामा बेपत्ता भएका यूवाको खोजीकार्य जारी रहेको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रममा वडा नम्वर ५ झिँका अन्दाजी ३५ वर्षीय भिमबहादुर घर्तीलाई एकराते खोलाले बगाएको हो । उहाँसंगै ३६ वर्षीय देवेन्द्र मैलिया पनि हुनुहुन्थ्यो । देवेन्द्र भने सुरक्षित हुनुहुन्छ ।
खोला तर्ने क्रममा भैसी सहित बेपत्ता भएका घर्तिलाई हालसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताउनुभयो ।
घर्तीलाई खोलाले बगाएको सूचना गाउँलेले दिएपछि सोमबार साँझदेखि नै खोजी सुरु गरिए पनि उहाँको अवस्था पत्ता नलागेको प्रहरी निरीक्षक तिमिल्सिनाको भनाई छ । मंगलबार विहानदेखि पुनः खोजी कार्य भइरहेको छ ।
अस्थायी प्रहरी बिट चिमखोलाबाट खटिएको प्रहरी टोली र स्थानीय मिलेर सोमबार रातीसम्म खोजी गरिएको थियो । अँध्यारोका कारण स्थगित गरिएको खोजी कार्य आज विहानदेखि पुनहः सूचारु गरिएको छ । खोज उद्धारका लागि सशस्त्र प्रहरी बलको १५ सदस्यीय टोली पनि परिचालन गरिएको छ। Pic: AI jenerated
प्रतिक्रिया