गोरखाको बूढीगण्डकी नदीमा आईतवार विहान आएको बाढीमा परेका व्यक्तिहरूको उद्धार, प्रभावितलाई राहत तथा घटनाको कारण पत्ता लगाउन सरकारले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ३८७ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकप्टर र तीनवटा विशेष खोज तथा उद्धार टोलीसमेत खटाइएको नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले जनाउनुभएको छ ।
बाढी आउनुको कारण पत्ता लगाउन ड्रोन प्रविधि र भूगर्भविद्सहितको तीन सदस्यीय टोली परिचालन गरिएको छ । घटनाको अवस्था अध्ययन गर्न सडक विभागका महानिर्देशक र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली पनि प्रभावित क्षेत्रमा पुगेको छ ।
प्रभावित क्षेत्रमा तत्काल आवश्यक राहत सामग्री सडक तथा हवाई मार्गबाट ढुवानी गर्ने काम भइरहेको छ । प्रदेश सरकारबाट स्वास्थ्य टोलीसमेत परिचालन गरिएको मन्त्री पुनको भनाई छ ।
सडक मार्गबाट यात्रा गरिरहेका यात्रु तथा बाढीबाट प्रभावित व्यक्तिहरूलाई अस्थायी रूपमा बसोबास र आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय तहसँग समन्वय भइरहेको प्राधिकरणले जनाएको छ । उद्धार गर्नुपर्ने व्यक्तिहरूको विवरण संकलन तथा अद्यावधिक गरी प्राथमिकताका आधारमा उद्धारको तयारी गरिएको छ ।
यसैगरी, प्रभावित क्षेत्रमा क्षतिको प्रारम्भिक विवरण संकलन भइरहेको छ । आरुघाट क्षेत्रका बासिन्दालाई आवश्यकताअनुसार उद्धार गर्ने व्यवस्था मिलाइँदै छ । घटनाको विस्तृत अध्ययन, क्षतिको आकलन र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित विज्ञ तथा विभागीय प्रमुखलाई आवश्यक उपकरणसहित प्रभावित क्षेत्रमा पठाउने तयारीसमेत भइरहेको छ ।
प्रतिक्रिया