logo
  • ७ कार्तिक २०८३, शुक्रबार | Fri, 23 Oct 2026
  • चोरीको मोबाइलबाट खुल्यो सुजन छन्त्याल हत्या प्रकरण, दुई दाजुभाइ प्रहरी अनुसन्धानको घेरामा

    • myagdipress myagdipress
    • २४ आश्विन २०८३ शनिबार
    चोरीको मोबाइलबाट खुल्यो सुजन छन्त्याल हत्या प्रकरण, दुई दाजुभाइ प्रहरी अनुसन्धानको घेरामा

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९, शिवमन्दिर चोकनजिक म्याग्दीका ३३ वर्षीय सुजन छन्त्यालको हत्या प्रकरणमा चोरी भएको मोबाइलले प्रहरीलाई आरोपित पत्ता लगाउन सहजता मिलेको छ ।

    घटनामा काठमाडौंको तारकेश्वर नगरपालिका–११, हिलेटोलका २४ वर्षीय मनिष खड्का र २७ वर्षीय अनिश खड्का आरोपित बनेका छन् ।
    वैदेशिक रोजगारीमा जानका लागि काठमाडौं आएका म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङका सुजन गत असोज ४ गते बिहान करिब ३ः२० बजे होटलबाट बाहिरिएका थिए । त्यसक्रममा उनीमाथि कुटपिट भएको र मोबाइल तथा नगद लुटिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    प्रहरीका अनुसार आरोपित दाजुभाइले सुजनलाई शिवमन्दिर चोकबाट पछ्याउँदै एकान्त स्थानमा पु¥याएर कुटपिट गरेको सीसीटीभी फुटेजको विश्लेषणबाट देखिएको छ । टाउकोमा गम्भीर चोट लागेर सडकपेटीमा अचेत अवस्थामा भेटिएका सुजनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । उपचारकै क्रममा सोही दिन राति उनको मृत्यु भएको थियो ।

    घटनापछि अनुसन्धान अघि बढाएको प्रहरीले लुटिएको मोबाइलको अन्तर्राष्ट्रिय पहिचान नम्बर (आईएमईआई), सीसीटीभी फुटेज र प्राविधिक विवरणको सहायताले अनुसन्धानलाई अगाडि बढाएको थियो । चोरीको मोबाइल बिक्री भएपछि प्रहरीले मोबाइल खरिद गर्ने व्यक्तिसम्म पुगेर सोधपुछ गरेको थियो । खरिदकर्ताको बयानका आधारमा मोबाइल बिक्री गर्ने व्यक्तिको पहिचान खुलेपछि प्रहरी मनिष र अनिशसम्म पुगेको हो ।

    त्रिवि शिक्षण अस्पतालमा गरिएको शव परीक्षणबाट सुजनको मृत्यु टाउकोमा लागेको गम्भीर चोटका कारण भएको पुष्टि भएको आफन्त सोम छन्त्यालले बताएका छन् । मृतकका दाजु धनबहादुर छन्त्यालले दिएको जाहेरीमा लुटपाट गर्ने उद्देश्यले सुजनमाथि कुटपिट गरी सडकमा छाडिएको उल्लेख छ ।

    प्रहरी वृत्त महाराजगञ्जका अनुसार मनिष र अनिशविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको छ । पीडित परिवारले मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ अनुसार आरोपितलाई कानुनबमोजिम कडा कारबाही गर्न माग गरेको छ ।

     



    myagdipress myagdipress    
  • २४ आश्विन २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP