logo
  • ७ कार्तिक २०८३, शुक्रबार | Fri, 23 Oct 2026
  • अन्नपूर्णका पहिरो प्रभावितलाई सिरक, डसना र सिरानी सहयोग

    • myagdipress myagdipress
    • २४ आश्विन २०८३ शनिबार
    अन्नपूर्णका पहिरो प्रभावितलाई सिरक, डसना र सिरानी सहयोग

    म्याग्दी । बाढीपहिरोका कारण विस्थापित भई म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार र वडा नं. ५ शिखस्थित अस्थायी आश्रयस्थलमा बस्दै आएका प्रभावितलाई सिरक, डसना र सिरानी सहयोग गरिएको छ ।

    म्याग्दी उद्योग वाणिज्य संघको सहजीकरणमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा दुवै आश्रयस्थलका लागि ५० थान सिरक, ५० थान डसना र १०० थान सिरानी उपलब्ध गराइएको हो ।

    प्राप्त सामग्रीमध्ये घारस्थित आश्रयस्थलमा २० थान सिरक, २० थान डसना र २० थान सिरानी तथा शिखस्थित आश्रयस्थलमा २० थान सिरक, २५ थान डसना र ३० थान सिरानी वितरण गरिएको छ । बाँकी १० थान सिरक, ५ थान डसना र ५० थान सिरानी पुनः उपलब्ध गराइने अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।

    सहयोगका लागि उद्योग वाणिज्य संघ म्याग्दी र एनआरएनएलाई विशेष धन्यवाद दिँदै गाउँपालिका अध्यक्ष भरत पुनले विपद्बाट प्रभावित नागरिकको राहत तथा व्यवस्थापनमा सहयोगी संस्थाको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । वडा नम्वर ५ पाउद्वारका ९७ जना नागरिक अहिले घार स्थित अस्थायी क्याम्पमा बसेका छन ।

    गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिकाका विभिन्न बस्तीका नागरिक विस्थापित भएका छन् । गिवाङ, पाउद्वार, किन्दु लगायतका गरि ११५ जना प्रभावितलाई उद्धार गरी घार र शिखस्थित अस्थायी आश्रयस्थलमा राखिएको छ ।

    बाढीपहिरोले अन्नपूर्ण गाउँपालिकामा ठूलो क्षति पु¥याएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार गाउँपालिकामा ४५ घर पूर्ण र १२ घरमा आंशिक क्षति पुगेको छ भने १८३ घर जोखिममा परेका छन् ।

    प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि अन्नपूर्ण गाउँपालिकाले प्रकोप व्यवस्थापन कोषको खाता संचालन गरि आर्थिक सहयोग गर्नसमेत अपिल गरेको छ । विपद्का कारण घरबारविहीन बनेका नागरिकलाई सुरक्षित आश्रय, आवश्यक सामग्री र दैनिक जीवनयापनमा सहयोग पु¥याउन स्थानीय तह तथा विभिन्न संघसंस्थाले सहकार्य गरिरहेका छन् ।



    myagdipress myagdipress    
  • २४ आश्विन २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP