गोरखाको चुमनुब्री–३ स्थित बूढीगण्डकी नदी सुक्खा पहिरोले थुनिएर खुलेपछि लेदोसहितको आकस्मिक बाढी आएको नेपाली सेनाले जनाएको छ। बाढीले न्याकचेत–सिर्दिबास र माछिखोला–केरौजा जोड्ने दुई झोलुंगे पुल तथा गोरखा–आरुघाट–धादिङ पक्की पुलको गोरखातर्फको भाग बगाएको छ।
धार्चे–३ सल्लेरीमा निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको पावर हाउस र आसपासका ८ देखि १० वटा घर बगाएको तथा ६ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ।
२५ असोज, काठमाडौं । गोरखाको बूढीगण्डकी नदीको माथिल्लो क्षेत्रमा सुक्खा पहिरोका कारण बहाव थुनिएको र पछि खुलेपछि लेदोसहितको आकस्मिक बाढी नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका अधिकारीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको जानकारी अनुसार आइतबार बिहान गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित बूढीगण्डकी नदी पहिरोका कारण थुनिएको र थुनिएको भाग खुलेपछि लेदोसहितको बाढी आएको हो ।
श्री नम्बर ३ बाहिनी अड्डालाई आज बिहान ५स्५५ बजे बुढीगण्डकी नदी थुनिएको प्रारम्भिक जानकारी प्राप्त भएको थियो ।
त्यसपछि गोरखा जिल्लामा तैनाथ रुद्रध्वज गण, सुरक्षा पोष्ट बाङ्गसिङ्गबाट सवा ६ बजे रेकी टोली खटिएको थियो । सोही टोलीले चुमनुब्री गाउँपालिका–३ फिलिम भन्ने स्थानमा सुक्खा पहिरो गएको एकिन गरेको थियो ।
नेपाली सेनाको यही रिपोर्टिङको आधारमा हालसम्म सोही सुक्खा पहिरोका कारण बहाव बन्द भएको र पछि खुलेर बाढी आएको प्रारम्भिक अनुमान गरिएको हो ।
प्रतिक्रिया