म्याग्दी । बाढीपहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडकमा पैदलयात्रा सहज बनाउन युवाहरूले श्रमदान अभियान थालेका छन्।
बेनीका प्रकाश पौडेलको नेतृत्वमा सहारा नामक युवाहरुको १५ जनाको टोलीले राहुपारे र कुनौटा क्षेत्रमा भर्याङ राख्ने, डोरी झुण्ड्याउने तथा पैदलयात्रामा अवरोध बनेका रुख हटाउने काम गरेको हो।
सडक सञ्चालनमा नआएसम्म अत्यावश्यक कामका लागि पैदल हिँड्नुपर्ने यात्रुको सहजता र सुरक्षाका लागि अभियान सञ्चालन गरिएको संयोजक पौडेलले बताउनुभयो। “यो सडक मर्मत सकिएर नियमित रूपमा यातायातका साधन सञ्चालन हुने अवस्था नआउँदा सम्मका लागि पदैलयात्रा गरेर गन्तब्यमा पुग्नुपर्ने बाध्यताका यात्रुको सहजताका लागि श्रमदान अभियान सञ्चालन गरेका हौ,” उहाँले भन्नुभयो ।
सामाजिक सञ्जाल फेसबुकमा अपिल र साथीहरूलाई आव्हान गरेर स्वमसेवक परिचालन गरेर सडकमा मानिसलाई सहज तथा सुरक्षित रूपमा आवत जावतको वातावरण बनाउने प्रयास गरिएको युवा नेता पौडेलको भनाई छ ।
बाढीपहिरोले बेनीदेखि काभ्रेभिरसम्मको करिब ३३ किलोमिटर सडकमा ठूलो क्षति पुर्याएको छ। बेनी–जोमसोम–कोरला सडक योजनाले पछिल्लो पटक अवरुद्ध भएका ४६ मध्य ४१ ठाउँमा मर्मत सकिएको जनाएको छ ।
प्रतिक्रिया