logo
  • ११ श्रावण २०८३, सोमबार | Mon, 27 Jul 2026
  • तीज गीत प्रतियोगितामा डम्मरा आमा समूह प्रथम

    • myagdipress myagdipress
    • ३ भाद्र २०८२ मंगलवार
    तीज गीत प्रतियोगितामा डम्मरा आमा समूह प्रथम

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ को कार्यालयद्वारा आयोजित मौलिक तीज गीत प्रतियोगितामा डम्मरा आमा समूह प्रथम भएको छ । सोमवार अर्थुङे स्थित वडा कार्यालय प्राङ्गणमा सम्पन्न भएको प्रतियोगितामा शुभविहानी आमा समूह द्वित्तिय र दिदीवहिनी आमा समूह तृतिय भएका छन । त्यस्तै उद्यमशिल आमा समूह, जामुनाखर्क भगवती आमा समूह र शिवालय आमा समूहले सान्त्वना स्थान प्राप्त गरेका छन ।

    विजेताहरुलाई प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना पुरस्कार क्रमशः १० हजा, ५ हजार, २ हजार, र १ हजार प्रदान गरिएको थियो । प्रतियोगितामा वडा भित्रका विभिन्न ११ वटा आमा समूहले सहभागीता जनाएका थिए । सहभागी अन्य ५ वटा आमा समूहलाई सहभागीताको प्रमाणपत्र सहित नगद १ हजारका दरले पुरस्कृत गरिएको प्रतियोगिताका संयोजक एवम् बेनी नगरपालिका वडा नम्वर ६ की महिला सदस्य शारदा रानाले जानकारी दिनुभयो ।

    सहभागीहरुले माईती र छोरी चेलीको कथा गीत मार्फत प्रस्तुत गरेका थिए । तीजको बेला दाजुभाई लिन नआउँदा, माईतीले नसम्झिँदाको वेदना, श्रीमान र सासु ससुराको अपहेलना सहदाको पीडा, बाबाआमा, दाजुभाई नहुँदा तीजमा माईतीको आगनीमा पाईला टेक्न नपाउँदाको कारुणिक भावहरु गीतमा पस्तुत गरेको थिए ।

    प्रतियोगिताको निर्णायकको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसी, निवर्तमान अध्यक्ष देवेन्द्र घिमिरे र उपाध्यक्ष देवी जिसी हुनुहुन्थ्यो भने कलाकार अमित विश्वकर्मा र विजय परियार बाद्यवादनको भूमिकामा रहनुभएको थियो ।

    यसअघि कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख डिल कुमारी खत्रीले तीजको मौलिकतालाई विर्सन नुहने बताउनुभयो । पार्टी प्यालेस र रेस्टुरेन्टहरुमा गीत बजाएर भड्किलो तरिकाले तीज मनाउने आधुनिक संस्कार मौलाउदै जादा माईतीको आगनीमा दिदीवहिनी जम्मा भएर आफ्नो वेदना पोख्दै तीजका गीत गाउने र नाच्ने चलन लोप हुन थालेको उहाँको भनाई थियो ।

    कार्यक्रममा बेनी नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँले तीजले चेली र माईतीको सम्वन्धलाई प्रगाढ बनाउने बताउनुभयो । उहाँले वडा भित्रका दिदीवहिनीहरुमा एकताको भावना विकास गराउनका लागि पनि तीज विशेष कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा महिला महिला दिदीवहिनीलाई दरको परिकार समेत खुवाईएको थियो ।

    तीज विशेष कार्यक्रम संयोजक शारदा रानाको अध्यक्षता, सहसंयोजक राधिका विश्वकर्माको स्वागत र पद्मा गौतमको संचालनमा प्रतियोगिता सम्पन्न भएको थियो ।



    myagdipress myagdipress    
  • ३ भाद्र २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP