logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • सुन्तलाको कमाईले कर्णकुमारीको पक्की घर

    • myagdipress myagdipress
    • १४ पुष २०८२ सोमबार
    सुन्तलाको कमाईले कर्णकुमारीको पक्की घर

    म्याग्दीको बेनी नगरपालिका–३, मरेककी एकल महिला कर्णकुमारी पूर्जा पुनले गतवर्षको सुन्तला बेचेर थाल्नुभएको पक्की घर यसवर्षको सुन्तला विक्री संगै निर्माण सम्पन्न हुँदै छ ।

    उमेरले ७२ वर्ष पुग्नुभएकी कर्णकुमारीले गतबर्ष सुन्तला बेचेर कमाएको १५ लाखसहित आफुँसँग बचत रहेको केही रकम खर्चिएर बनाउँदै गरेको ढलान घरमा रंगरोगन भइरहेको छ । यसबर्ष १० लाखभन्दा बढीको सुन्तला फलेको छ । कर्णकुमारीले फलाएको सुन्तलाको दुई बर्षकोे कमाइबाट घर ठडिन्छ । सुन्तलाले लोभ लाग्दो आम्दानी दिन थालेपछि उहाँको पहिलो रोजाईमा घर निर्माण परेको हो । यस अघि उहाँको कच्ची घर जिर्ण अवस्थामा रहेको थियो ।

    श्रीमानको निधनपछि जोत्ने हलगोरू र काम गर्ने खेताला खोज्न झन्झट लागेर सुन्तला खेती गर्नुभएकी कर्णकुमारीको बगैचा अहिले सुनजस्तै पहेँलपूर छ । मकै, कोदो, गहुँ जस्ता परम्परागत खेतीबाली लगाउन छाडेर करिब २० बर्ष अगाडी सुन्तालाका केही थान बिरूवा ल्याएर खेती थालेकी कर्णकुमारीले पहिलो उत्पादन बेचेर १६ सय कमाउनुभएको थियो । कर्णकुमारीले सुन्तलाबाट सय, हजार हुदैं १५ लाखसम्म बुझ्नुभएको छ । अहिले कर्णकुमारीको १० रोपनी क्षेत्रफलमा सुन्तला बगैचा फैलिएको छ ।

    कुनैबर्ष रोगले सुन्तला सखाप हुदाँ निराश भएपनि हरेस नखाएकी कर्णकुमारीको दैनिकी सुन्तला बगैंचामै बित्ने गरेको छ । “आफ्ना सन्ततीलाई जस्तै गरि सुन्तलाको बोटलाई स्याहार गर्छु, मलाई खुसी दिने यहि सुन्तला बनेको छ, बुढेसकालमा पनि मेरो दैनिकी सुन्तला संगै चल्छ” कर्णकुमारीले भन्नुभयो । गतबर्षको तुलनामा कम फलेपनि उत्पादनबाट सन्तुष्ट रहेको उहाँ बताउनुहुन्छ ।

    रोजगारीको शिलशिलामा अफगानिस्तानमा पुगेका श्रीमानको २०६७ सालमा आतंककारीको आक्रमणबाट निधन भएपछि घर व्यवहार धान्न हम्मेहम्मे परेको कर्णकुमारीलाई सुन्तलाले सहज बनाईदियो । सुन्तलाको कमाइले छोरीहरूको शिक्षादिक्षा, विवाह लगायतका घरायसी खर्चसँगै बचत समेत गरेको कर्णकुमारीको भनाई छ । ‘आफ्नो संसार उजाडिएपछि मलाई बाँच्न सुन्तलाले सिकाएको छ, सुन्तलाले आर्थिक रुपमा बलियो बनाएको छ’ कर्णकुमारीले भन्नुभयो ।

    सुन्तलाखेती बुढेसकालको सहारा बनेको छ । घरखर्च चलाउन श्रीमान, सन्तानमाथि निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न फलफुल र तरकारी खेती गरे पुग्ने कर्णकुमारीको सुझाव छ । उहाँ मरेक गाउँमा सबैभन्ँदा धेरै सुन्तला फलाउने कृषकको रुपमा चिनिनुहुन्छ ।
    सुन्तला खरिदका लागि आएका ब्यापारीले समेत कर्णकुमारीको बगैचालाई पहिलो रोजाईमा पार्ने गर्दछन । रासस

     



    myagdipress myagdipress    
  • १४ पुष २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP