logo
  • २८ भाद्र २०८३, आईतवार | Sun, 13 Sep 2026
  • बेनीका पाँच विद्यालयमा बालविवाह र लागुपदार्थ दुव्र्यसनी विरुद्धको सडक नाटक प्रस्तुती

    • myagdipress myagdipress
    • १३ असार २०८३ शनिबार
    बेनीका पाँच विद्यालयमा बालविवाह र लागुपदार्थ दुव्र्यसनी विरुद्धको सडक नाटक प्रस्तुती

    म्याग्दी । ‘चेतना जगाऔँ, युवा बचाऔँ; बालविवाह र दुव्र्यसन आजै हटाऔँ!’ भन्ने मूल नारालाई केन्द्रमा राख्दै बेनी नगरपालिकामा आयोजित सडक नाटक ‘बिहानी’ सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग तथा धौलागिरि नाट्य समूहद्वारा आयोजित कार्यक्रम बेनी बजार, अर्जम र पुलाचौरका सामुदायिक विद्यालयमा प्रदर्शन गरिएको हो ।

    बेनीको बालमन्दिर मावि, बेनी सामुदायिक मावि, प्रकाश मावि, अर्जमको रामचन्द्र मावि र पुलाचौरको जनकल्याण माविमा नाटक प्रस्तुत गरिएको हो । सडक नाटकले बालविवाह र लागूऔषध दुव्र्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने असरलाई यथार्थपरक रूपमा प्रस्तुत गर्दै युवालाई जिम्मेवार, सचेत र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गरेको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।

    नाटकमा बालविवाहले किशोर–किशोरीको शिक्षा, स्वास्थ्य र भविष्यमा पार्ने दीर्घकालीन असर तथा लागूऔषध दुव्र्यसनले परिवार र समाजमा निम्त्याउने समस्या चित्रण गरिएको थियो । प्रस्तुतीमार्फत समयमै सचेत भए स्वस्थ र सुरक्षित समाज निर्माण गर्न सकिने सन्देश प्रवाह गरिएको थियो । धौलागिरि नाट्य समूहका सचिव अमित विश्वकर्माले कला समाज परिवर्तनको प्रभावकारी माध्यम भएको बताउँदै यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    “सडक नाटक मनोरञ्जनको माध्यम मात्र होइन, समाजलाई सोच्न र बदलिन प्रेरित गर्ने सशक्त अभियान हो । ‘बिहानी’ मार्फत हामीले विशेषगरी युवालाई बालविवाह र दुव्र्यसनबाट टाढा रहन तथा उज्ज्वल भविष्यतर्फ अघि बढ्न आग्रह गरेका छौँ । दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले यस्ता कार्यक्रमको आवश्यकता अझ पुष्टि गरेको छ,” विश्वकर्माले भन्नुभयो ।

    बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले सामाजिक सुधारका अभियानमा समुदायको सहभागिता अपरिहार्य रहेको बताउनु भयो । “बालविवाह र दुव्र्यसनजस्ता सामाजिक विकृतिको अन्त्य कानुनले मात्र सम्भव हुँदैन, त्यसका लागि समुदायमा चेतना विस्तार हुनुपर्छ । ‘चेतना जगाऔँ, युवा बचाऔँ बालविवाह र दुव्र्यसन आजै हटाऔँ अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ । यस्ता सिर्जनात्मक कार्यक्रमले विशेषगरी नयाँ पुस्तालाई सही बाटो रोज्न प्रेरणा दिने विश्वास लिएका छौँ,” शर्माले भन्नुभयो ।

    सहभागीहरूले यस्ता कार्यक्रम विद्यालय र समुदायस्तरमा निरन्तर सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । बेनी नगरपालिकाले सामाजिक रूपान्तरणका अभियानलाई प्राथमिकतामा राख्दै कला र संस्कृतिमार्फत जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमलाई आर्थिक सहयोग गरेको जनाएको छ ।



    myagdipress myagdipress    
  • १३ असार २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP