म्याग्दी । ७२ वर्षीय डम्मरबहादुर विकको घर अहिले बस्न मिल्ने अवस्थामा छैन । जीवन गुजारा चलाउँदै आउनुभएको उहाँको आरन पनि पहिरोले पुरै क्षति बनाएको छ । आरनसँगै गोठ पुरिँदा दुहुनो भैंसीसमेत पहिरोमा परेको छ । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि गाउँमाथिबाट आएको लेदोमाटोसहितको पहिरोले म्याग्दीको मंगला गाउँपालिका–२ आम्बोटका चार घरमा क्षति पु¥याएको हो । असोज १० गते बिहान घरमाथिबाट एक्कासी पहिरो खसेपछि स्थानीयले भागेर ज्यान जोगाएका थिए ।
पहिरोले मनवुजा विक, डम्मरबहादुर विक, मनकुमारी सुनार र लालबहादुर विश्वकर्माको घरमा क्षति पु¥याएको छ । घरसँगै उनीहरूको धानखेतमा समेत ठूलो क्षति पुगेको छ । नारायण पुरी, चन्द्रकुमारी विक र उमा विकको धानखेतसमेत पहिरोले बगाएको छ । डम्मरबहादुरको घर बस्नै नमिल्ने गरी भत्किएको छ । वर्षौंदेखि जीवन निर्वाहको आधार बनेको आरनसमेत पहिरोले पुरै क्षति बनाएको उहाँले बताउनुभयो । “घर पनि रहेन, गुजारा चलाउने आरन पनि रहेन,” उहाँले दुःखेसो गर्नुभयो ।

पहिरोबाट भागेर ज्यान जोगाउनुभएका लालबहादुर विश्वकर्माको घरमा आंशिक क्षति पुगेको छ । तर किचन, ट्वाइलेट, बाथरुम, खानेपानीको मिटरबक्स, तीनवटा ड्रमलगायतका सामग्री पहिरोले बगाएको उहाँले बताउनुभयो । उहाँको करिब ८ रोपनी धानखेत बाढी र पहिरोले पूर्णरूपमा क्षति बनाएको छ ।
स्थानीयका अनुसार आम्बोट गाउँमा यसअघि कहिल्यै पहिरो आएको थिएन । यसपटक भने गाउँमाथिको लरेनी गाउँमुनिबाट लेदोमाटोसहितको पहिरो खसेपछि बस्ती र खेतबारीमा क्षति पुगेको हो । पहिरो प्रभावित परिवारलाई तत्काल राहतको व्यवस्था गर्दै क्षतिको विवरण संकलन गरी दीर्घकालीन व्यवस्थापनको योजना अघि बढाइने मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।
पहिरोबाट भएको क्षतिको अवस्था बुझ्न सोमबार गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली (सुविन), प्रमुख जिल्ला अधिकारी गणेश गैरे, प्रहरी नायव उपरीक्षक राजन कार्की, प्रमुख अनुसन्धान अधिकृत विजय पौडेल तथा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम लगायतको टोली आम्बोट पुगेको थियो । टोलीले पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुका साथै प्रभावित परिवारसँग छलफल गरेको थियो ।

प्रतिक्रिया