logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • पुष्पलालको स्मृतिमा वृत्तचित्र प्रदर्शन

    • myagdipress myagdipress
    • ८ श्रावण २०८२ बिहीबार
    पुष्पलालको स्मृतिमा वृत्तचित्र प्रदर्शन

    म्याग्दी, ८ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गीय पुष्पलालको सम्झनामा डकुमेन्ट्री प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा बुधवार पुष्पलाल स्मृति दिवसको अवसर पारेर नेपालमा कम्युनिष्ट आन्दोलनको डकुमेन्ट्री प्रदर्शन गरिएको हो ।
    ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई अन्त्य गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारासहित म्याग्दी सदरमुकाम बेनीबजारस्थित वीरेन्द्रचोकमा पुष्पलालको स्मृति दिवसमा नेपालमा कम्युनिष्ट आन्दोलनको भिडियो डकुमेन्ट्री प्रदर्शन गरिएको एमाले म्याग्दीले जनाएको छ । उक्त डकुमेन्ट्री बेनीको वीरेन्द्रचोकमा हिजो साँझ साढे ६ बजेदेखि प्रदर्शन गरिएको थियो ।
    कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्षगाँठको अवसर पारेर पार्टी केन्द्रले निर्माण गरेको नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहासदेखि वर्तमानसम्मको भिडियो डकुमेन्ट्री प्रदर्शन गरिएको एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । भिडियो डकुमेन्ट्री प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्व. नेता पुष्पलालको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेर देशको परिवर्तनका लागि उहाँले पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । पुष्पलालले अगाडि सारको विचार अनुसार देश अगाडि बढेको उहाँको भनाइ छ ।
    कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, उपाध्यक्ष प्रमोद श्रेष्ठ, जिल्ला कमिटी सदस्य एवं जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीलगायत एमालेका नेता एवं कार्यकर्ताहरुले स्व. पुष्पलालको तस्विरमा माल्यार्पण गर्नुभएको थियो । करिब ४० मिनेटको भिडियो डकुमेन्ट्रीभित्र नेपालमा कम्युनिष्ट पार्टी स्थापनादेखि हालसम्म ७ दशक अवधिका विभिन्न घटना र गतिविधिहरु समावेश गरिएका छन् ।
    कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लाको भँगेरीमा भएको हो । नागरिकको पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ वि.सं. २००६ साल वैशाख १० गते नेकपाको स्थापना भारतको कोलकतास्थित श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो । वि.सं २०२५ सालमा पञ्चायती निरङ्कुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने पहिलो नेताको रूपमा पुष्पलाललाई लिने गरिन्छ ।
    पुष्पलालको वि.सं. २०३५ साल साउनको ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । नेपालका कम्युनिष्ट पार्टीहरुले हरेक वर्षको साउन ७ गतेका दिन विभिन्न कार्यक्रमहरुको आयोजना गरेर पुष्पलालको स्मृति दिवस मनाउँदै आइरहेका छन् ।



    myagdipress myagdipress    
  • ८ श्रावण २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP