म्याग्दीको सदरमुकाम बेनीमा सुविधासम्पन्न भलिबल कभर्डहल निर्माणका लागि म्याग्दी समाज अमेरिकाले १ लाख रुपैयाँ सहयोग गरेको छ । भलिबल कभर्डहल निर्माणका लागि म्याग्दी जिल्ला भलिबल संघले संचालन गरेको जग्गा खरिद अभियानमा म्याग्दी समाज अमेरिकाको कार्यसमितिबाट १ लाख रुपैयाँ सहयोग गरिएको समाजका महासचिव सञ्जन बोहोराले बताउनुभयो ।
म्याग्दी जिल्लामा भलिबल कभर्डहल निर्माण गर्न हाल जग्गा खरिद योजना अघि सारिएकाले समाजबाट सहयोग उपलब्ध गराईएको महासविच बोहोराको भनाई छ ।
बेनी नगरपालिका–७ बौद्ध विहार नजिकै दुई रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गा एक करोड ४२ लाख ५० हजारमा खरिद गर्ने योजना रहेकोमा हालसम्म विभिन्न क्षेत्रबाट सहयोग भइरहेको म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

पहिलो चरणमा जग्गा खरिद गरेपछि दोस्रो चरणमा कभर्डहल निर्माण सुरु गरिनेछ । हाल बेनी नगरपालिकाबाट विनियोजित रु १० लाख रुपैयाँबाट जग्गा सम्याउने, घेराबार गर्ने तथा शौचालय निर्माण गर्ने काम भईरहेको अध्यक्ष बानियाँले बताउनुभयो ।
राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, कमला पुन, जमानसिंह परियार सहित राष्ट्रिय तथा क्षेत्रीयस्तरका खेलाडी उत्पादन गरेको म्याग्दीमा भलिबल कभर्डहल निर्माण गर्न लागिनु खुसिको कुरा भएको भन्दै यस अभियानमा जोडिन विश्वभर रहेका म्याग्देलीहरुलाई म्याग्दी समाजका अध्यक्ष कमल भण्डारीले अनुरोध गर्नुभएको छ ।
कभर्डहलमा एक हजार जना दर्शक क्षमता भएको भलिबल कोर्ट, जिमहल, कपडा फेर्ने कोठा, अफिसियल बैठककक्ष, चमेनागृह, प्यारापिट, विद्युत्, ध्वनि उपकरण, एसी, शौचालय, सयनकक्ष, एलसिडी बोर्ड, भण्डारण कक्ष, जेनेरेटर सहित अन्य इन्डोर खेल विधालाई समेत स्थान दिइने छ । कभर्डहल बनाउन चार वर्षमा कुल साढे ३ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया