logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • म्याग्दीका उत्कृष्ट तीनवटा सामुदायिक वन उपभोक्ता समूह पुरस्कृत

    • myagdipress myagdipress
    • ३ श्रावण २०८२ शनिबार
    म्याग्दीका उत्कृष्ट तीनवटा सामुदायिक वन उपभोक्ता समूह पुरस्कृत

    म्याग्दी, ३ साउन । म्याग्दीमा क्रियाशील सामुदायिक वन समूहहरुमध्ये उत्कृष्ट तीनवटा वन समूह शुक्रवार पुरस्कृत भएका छन् । डिभिजन वन कार्यालय म्याग्दीद्वारा गएको आर्थिक वर्ष २०८१÷०८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने तीनवटा सामुदायिक वन उभोक्ता समूहलाई छनोट गरी सम्मान गरिएको हो ।

    पुरस्कृत हुने वन समूहतर्फ भगवती सामुदायिक वन उपभोक्ता समूह मालिका गाउँपालिका–६, दरबाङ प्रथम, बराहपाखो सामुदायिक वन उपभोक्ता समूह बेनी नगरपालिका–७ र ८, बेनीबजार द्वितीय तथा जनहित सामुदायिक वन उपभोक्ता समूह रघुगंगा गाउँपालिका–२, राखुभगवती तृतीय भएका छन् । उनीहरुलाई क्रमशः नगद १० हजार, सातहजार पाँचसय र पाँचहजार रुपैयाँसहित दोसल्ला र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

    यसैगरी गतवर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीतर्फ डिभिजन वन कार्यालय म्याग्दीको लेखापाल पदमा कार्यरत भीष्म थापा र वन तथा वातावरण संरक्षणको क्षेत्रमा पत्रकारिताको माध्यमबाट सकारात्मक सन्देश प्रचारप्रसार गरी आवश्यक सहयोग पु¥याएको भन्दै रुप्से दैनिक पत्रिकाका सहसम्पादक तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सहसचिव प्रताप बानियाँलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

    उत्कृष्ट वन समूह, कर्मचारी र पत्रकारलाई डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारी, वन अधिकृत चन्द्रमणि सापकोटा र खरिदार गोविन्दप्रसाद सुवेदीले नगद तथा सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । सम्मान प्रदान गर्दै डिभिजनल वन अधिकृत अधिकारीले गत वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूह, कर्मचारी र एकजना पत्रकारलाई छनोट गरी पुरस्कृत गरिएको बताउनुभयो । उहाँले सम्मानको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउँदै वन तथा वातावरणको क्षेत्रमा सबैले संरक्षण र संवद्र्धन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।

    डिभिजन वन कार्यालयका वन अधिकृत चन्द्रमणि सापकोटाले नियमित रुपमा हुँदै आइरहेको कार्यक्रम अन्तर्गत यसवर्ष पनि सम्मानको कार्यक्रम आयोजना गरिएको बताउँदै वन, जङ्गल क्षेत्र र वन्यजन्तु जनावरण तथा पशुपंक्षीहरुको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यालयका खरिदार गोविन्द सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सम्मानित वन समूहमध्ये बराहपाखो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णु गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    म्याग्दी जिल्लामा कुल सामुदायिक वनहरु ३ सय ११ वटा रहेका छन्भने २ वटा धार्मिक वन र एकवटा कबुलियत वन रहेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । ‘हरियो वन नेपालको धन’ भन्ने नारा रहेको वन क्षेत्रलाई नेपाल सरकारले समुदायमा हस्तान्तरण गरेपछि सामुदायिक वन उपभोक्ता समूहहरु सशक्त बन्दै गैरहेका छन् । तर पछिल्लो समय वन क्षेत्रमा आगलागी र डढेलाको घटनामा उल्लेख्य वृद्धि भएकाले सचेत हुनुपर्ने देखिन्छ ।



    myagdipress myagdipress    
  • ३ श्रावण २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP