म्याग्दी, १३ मंसिर । म्याग्दी जेसिजद्वारा आयोजित २३ औं संस्करणको अन्तरमावि जेसीज कप फुटबल प्रतियोगितामा केबी एकेडेमी दरबाङ च्याम्पियन बनेको छ । शनिबार सदरमुकाम बेनी स्थित खुल्लामञ्चमा सम्पन्न भएको खेलमा ३–१ ले बेनी सामुदायिक माविलाई पराजित गदैं पहिलोपटक केबी एकेडेमीले जेसीज कपको उपाधी जितेको हो ।
प्रतियोगिताको पहिलो हापको २२ मिनेटमै बिबेक बुढाले गोल गरेपछि केबी एकेडेमीले अग्रता लिएको थियो । पहिलो हाफमा निकै कमजोर प्रदर्शन गरेको बेनी सामुदायिकले दोस्रो हाफमा सुधार गरेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन् ।
केबी एकेडेमीको तर्फबाट दिक्षित बुढाले ३८ र ४३ मिनेटमा थप दुई गोल गदैं विजयको बलियो संकेत देखाएका थिए । प्रतियोगितामा थपिएको अतिरिक्त समयमा बेनी सामुदायिकका सन्दिप क्षेत्रीले एक गोल गरेका थिए । प्रतियोगिता अवधिभर मैदानभित्र केबी एकेडेमी नै हाबी देखिएको थियो ।

यसअगाडी केबी एकेडेमी सन् २०१८ मा आयोजित १७ औं जेसीज कपमा उपबिजेता भएको थियो भने यसपटकको उपबिजेता बेनी सामुदायिक मावि गतबर्षको समेत उपविजेता हो । बेनी सामुदायिकाको पहिलोपटक बिजेता बन्ने सपना यसपट पनि सफल हुन सकेन ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता केबी एकेडेमीका खिमबहादुर थापा, माउण्ट एभरेष्ट आवासीय माविका एञ्जल थजाली र लिटल गार्डेन एकेडेमीका एलिन जुग्जालीले समान ५ गोल गरेका थिए ।
उत्कृष्ट खेलाडी केबी एकेडेमीका होमन जुग्जाली, उत्कृष्ट गोलरक्षक केबी एकेडेमीका सञ्जन घर्ती, उत्कृष्ट डिफेन्डर बेनी सामुदायिक माविका साइरेस पुन, उत्कृष्ट मिडफिल्डर केबी एकेडमीका मौसम रोका, उत्कृष्ट स्ट्राईकर बेनी सामुदायिक माविका सन्दिप क्षेत्री, राईजिङ प्लेयर लिटल गार्डेनका इशान सुबेदी, उत्कृष्ट प्रशिक्षक केबी एकेडेमीका टण्डीन लामा र अनुशासित टिम निस्कोट माविलाई सम्मान गरिएको प्रतियोगिताका मुल संयोजक नविन पौडेलले बताउनुभयो ।

प्रतियोगितामा बिजेता विद्यालयलाई गण्डकी प्रदेशसभाका सदस्य हरि भण्डारी, बेनी नगरपालिकाका कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, नेपाल जेसीजका राष्ट्रि«य उपाध्यक्ष अनुप दुलाल, उपाध्यक्ष सन्दिप खत्री, बागलुङ जेसीजका शाखा अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठ, म्याग्दी जेसीजका अध्यक्ष बिनोद घर्ती क्षेत्री र टाईटल स्पोन्सर एभरेष्ट ग्लोबल एजुकेशन भिसा सर्भिस बेनीका संचालिका अस्मिता बानियाँले पुरस्कार वितरण गुर्नभएको थियो ।
विजेता विद्यालय केबि एकेडेमीले रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५५ हजार पाँच सय ५५ र उपबिजेता बेनी सामुदायिकले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ३५ हजार पाँच सय ३५ पुरस्कार प्राप्त गरेका छन ।
अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताका लागि एभरेष्ट ग्लोबल एजुकेशन भिसा सर्भिसेस बेनीले सन् २०२८ सम्म मुख्य प्रायोजन गरेको छ । म्याग्दीमा फुटबल खेलाडीको उत्पादनका लागि म्याग्दी जेसीज कपलाई गेट किपरको रुपमा लिइन्छ ।

प्रतिक्रिया