१९ औं गणतन्त्र दिवसको अवसरमा म्याग्दीमा विविधि कार्यक्रम गरी मनाइएको छ । गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा शुक्रबार सदरमुकाम बेनीबजारमा प्रभातफेरीको आयोजना गरिएको थियो ।
सदरमुकाम बेनीमा राजनीतिक दल, सरकारी निकाय तथा विभिन्न संघसंस्थाको सहभागितामा प्रभातफेरी कार्यक्रममा सहभागिता रहेको थियो । यस बर्ष प्रभातफेरी कार्यक्रमसहित जिल्लामा समयमै निर्माणकार्य सम्पन्न गर्ने निर्माण ब्यवसायीलाई सम्मान गरी दिवस मनाइएको छ ।
बेनीबजारमा प्रभातफेरी गरी बिरेन्द्रचोकमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य, बेनी नगरपालिकाका मेयर सुरत केसीले पूर्वाधार कार्यालय म्याग्दी, डिभिजन खानेपानी तथा जलस्रोत सिचाइ विकास डिभिजन कार्यालय म्याग्दी, कालिगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामा तोकिएको समय अगाडी नै निर्माणको काम गर्ने निर्माण ब्यवसायीलाई कदरपत्रले सम्मान गर्नुभएको थियो ।

सम्मानित हुनेमा पूर्वाधार कार्यालयबाट ओमेन अस्कर निर्माण सेवा मालिका ५, देविस्थान, रुप्से बिल्र्डस निर्माण कम्पनी, अन्नपूर्ण–३ दाना, सोमरस निर्माण सेवा बेनपा–२, खवरा, बिबिपिल बिएडी डिपी, काठमाण्डौ टोखा, एसएस बिल्र्डस बेनपा–९, मंगलादेवी सुवास कस्ट्रक्सन, नुवाकोट, मंगला कस्ट्रक्सन प्रालि, त्यसैगरी डिभिजन खानेपानी तथा जलस्रोत सिचाइ विकास डिभिजन कार्यालय म्याग्दीमार्फत समयमै काम सम्पन्न गर्ने धौलाश्री निर्माण सेवा रघुगंगा–३, म्याग्दी, महाशक्ती मायाँ निर्माण कस्ट्रक्सन प्रालि, बेनपा–६, रुप्से बिल्र्डस निर्माण कम्पनी, अन्नपूर्ण–३ दानालाई सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै प्रजिअ आचार्यले समयमै निर्माणकार्य सम्पन्न गर्ने निर्माण ब्यवसायीलाई सम्मान गरी अन्य ब्यवसायीलाई समेत सन्देश प्रवाह गरेको बताउनुभयो । गणतन्त्र दिवस मुल समारोह समितिकी संयोजक दिलकुमारी खत्रीले गणतन्त्र दिवसको अवसरमा एकता र सन्देश प्रवाह गरिएको बताउनुभयो ।
नेपाली जनताको आन्दोलन र परिवर्तनको आकांक्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा राजनीतकि परिवर्तन मात्रै नभई हरेक जनताको आर्थिक, सामाजिक तथा सम्रग क्षेत्रमा परिवर्तन गरे मात्रै गणतन्त्र संस्थागत हुनेमा जोड दिइएको थियो । कार्यक्रमको सञ्चालन शाखा अधिकृत अमृत सुबेदीले गर्नुभएको थियो ।
प्रतिक्रिया