logo
  • २९ भाद्र २०८३, सोमबार | Mon, 14 Sep 2026
  • घरदैलोमा पुग्न थाले उम्मेदवार, देखिन थाल्यो चुनावी माहोल

    • myagdipress myagdipress
    • १२ माघ २०८२ सोमबार
    घरदैलोमा पुग्न थाले उम्मेदवार, देखिन थाल्यो चुनावी माहोल

    म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीका दल तथा स्वतन्त्र उम्मेदवार चुनावी अभियान लिएर मतदाताका घर–घरमा पुग्न थालेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयका विभिन्न कार्यक्रमहरुमा सहभागितासँगै चुनावी योजना बनाउन ब्यस्त उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्न थालेपछि गाउँमा चुनावको माहोल देखिन थालेको छ ।

    नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बन्नुभएका कर्णबहादुर भण्डारी रघुगंगा गाउँपालिकास्तरीय भेलामार्फत चुनावी अभियान सुरु गरिएको छ । निवर्तमान प्रतिनिधिसभा सदस्य एवम् पार्टी सभापति खमबहादुर गर्बुजा, संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, उपसभापति हरिकुमार श्रेष्ठ सहितका नेताहरुको उपस्थितिमा निर्वाचन परिचालन समितिमार्फत चुनावी अभियान सुरु गरिएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।

    त्यसैगरी नेकपा एमाले म्याग्दीको तर्फबाट उम्मेदवार हरिकृष्ण श्रेष्ठ रघुगंगा गाउँपालिका क्षेत्रमा घरदैलो अभियानमा ब्यस्त हुनुहुन्छ । उम्मेदवारहरु चुनावी प्रतिबद्धता सहितका कार्यहरु समेत सञ्चालन गरिरहनुभएको छ ।शनिबार र आइतबार दुई दिन रघुगंगा वडा नं २ र ३ क्षेत्रमा मतदातालाई घरदैलोमै गएर आफ्नो प्रतिबद्धता सहितको अभियानमा जुट्नुभएको छ ।

    नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापा जिल्लाका विभिन्न स्थानमा पुगेर मतदाता भेटघाट सहित चुनाव केन्द्रित अभियान सञ्चालन भइरहेको नेकपाले जनाएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार डा. महावीर पुनले सदरमुकाम बेनीमा सम्पर्क कार्यालय स्थापना गरी सोमबारदेखि पश्चिम म्याग्दी हुदै रघुगंगा पुग्ने योजना रहेको छ ।

    एउटा मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको म्याग्दीमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुवेदी, नेकपा ९माओवादी० बाट क्षेत्रबहादुर घिमिरेले सामूहिक र व्यक्तिगत रुपमा मतदातासँग भेटघाटलाई तिव्रता दिनुभएको छ । जिल्लामा प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० बाट देबेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भिमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट बिनोद लामा, राष्ट्रिय जनमोर्चाबाट क्षेमबहादुर विक चुनावी अभियानमा हुनुहुन्छ ।

    उम्मेदवार गाउँमा देखिन थालेपछि चुनावी प्रचारप्रसारसँगै मतदाता भेटघाटका कार्यतालिका बनाउन स्थानीयस्तरका नेताहरु ब्यस्त छन् । निर्वाचनका लागि म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदान स्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।



    myagdipress myagdipress    
  • १२ माघ २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP