म्याग्दी । नेकपा एमाले म्याग्दी मुल निर्वाचन परिचालन कमिटिको आयोजनामा संचालन भईरहेको चुनाव प्रचारप्रसार कार्यक्रम अन्तर्गत आज तेस्रो दिनको अभियान लुलाङबाट सुरु भएको छ ।
यहि फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले म्याग्दीबाट प्रत्यक्ष तर्फका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र समानुपातिकतर्फका उम्मेदवार नरदेवी पुन सहित जिल्ला तथा पालिका कमिटिका नेता कार्यकर्ताहरुको उपस्थितिमा धौलागिरी गाउँपालिका वडा नम्वर २ लुलाङमा चुनावी सभा गरिएको हो ।
चुनावी प्रचारका लागि लुलाङ पुग्नुभएका उम्मेदवार श्रेष्ठ र पुनलाई लुलाङका मतदाताहरुले फुलमाला र बाजागाजा सहित भव्य स्वागत समेत गरेका छन । उम्मेदवार श्रेष्ठले जिल्लाको विकास र र समृद्धिको सपना साकार पार्ने संकल्पका साथ जनतामाझ आएको बताउँदै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सूर्य चिन्हमा मतदान गरि विजयी गराउन लुलाङबासी समक्ष अनुरोध गर्नुभयो ।

‘तपाईले दिएको भोट मेरो लागि होईन समृद्ध जिल्ला बनाउने साझा अभियानका लागि हुनेछ’ उम्मेदवार श्रेष्ठले भन्नुभयो, “सदनमा पुगेर हाम्रो जिल्लाको सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका समस्या समाधानका लागि मेरो अहम भूमिका हुनेछ, समृद्ध जिल्ला बनाउने मेरो यात्रालाई गन्तव्यमा पु¥याउन यहाँहरुको भोट अमूल्य हुनेछ” ।
समानुपातिकतर्फका उम्मेदवार नरदेवी पुनले देशको विकास र समृद्धिको सपना देख्ने, र जनताको भावना अनुसारको काम गर्ने पार्टी नेकपा एमाले भएकाले यो निर्वाचनमा पनि एमाले पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।
चुनाव प्रचारप्रसार कार्यक्रम अन्तर्गत लमसुङमा पनि चुनावी सभाको आयोजना गरि उम्मेदवारहरुले भोट भाग्नु भएको छ । आजै वडा नम्वर ४ मुदी र खिवाङमा चुनावी सभा आयोजना गर्ने कार्यक्रम रहेको मुल निर्वाचन परिचालन कमिटिका संयोजक तथा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया