काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन आव्हान गर्नुभएको छ । राष्ट्रका नाममा विशेष सम्बोधनमार्फत् कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन मतदानको महत्त्वमाथि जोड दिनुभयो ।
‘जेनजी’ आन्दोलनपछिको कठिन र चुनौतीपूर्ण समय सम्झँदै उनले हिंसात्मक मोडबाट देशलाई शान्तिपूर्ण निकास र संविधानको बाटोमा फर्काउन सफल भएको भन्दै सन्तोष जनाउनुभयो ।
कार्कीले भन्नुभयो, ‘मैले जिम्मेवारी सम्हाल्दाको परिस्थिति जटिल थियो, तर जनताको संयम र सहकार्यले आज हामी विधिको शासन स्थापित गर्दै स्थिरताको बाटोमा आइपुगेका छौँ ।’
चुनावलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सरकार र निर्वाचन आयोग पूर्ण प्रतिबद्ध रहेको उहाँले विश्वस्त पार्नुभयो ।
कार्कीले भन्नुभयो, ‘चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिन चाहन्छु। तपाईँहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो । साथै मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र त्यसअघिको बाँकी समयमा संयमित ढंगले, एक(अर्कालाई सम्मान गर्दै प्रचारप्रसार गर्न म सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई आग्रह गर्दछु ।’
सामाजिक सञ्जाल र मिडियाबाट तथ्यहीन र कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले निगरानीमा राखेको भन्दै उहाँले कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभएको छ।
इरान र मध्यपूर्वी क्षेत्रमा बढ्दो युद्धको संकटप्रति चिन्ता जनाउँदै प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीहरूको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको र परराष्ट्र मन्त्रालयमार्फत सघन अनुगमन भइरहेको बताउनुभयो ।
प्रतिक्रिया