म्याग्दी, १ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको रुईसे टोलमा अलपत्र अवस्थामा रहेको भवनमा होमस्टे संचालन गरिने भएको छ । बषौँदेखि अलपत्र रहेको आरसिभियुको भवनलाई वडा कार्यालयले मर्मत गरेर होमस्टे संचालन गर्न लागेको हो ।
स्थानीय आमा समुहलाई भवनको जिम्मा लगाएर गाउँमा आउने पर्यटकका लागि होमस्टे संचालन गर्न लागेको वडा अध्यक्ष अमृत भण्डारीले जानकारी दिनुभयो । ‘बषौँदेखि अलपत्र अबस्थामा रहेको भवनलाई हामीले मर्मत गरेर गाउँमा आउने पर्यटकका लागि स्थानीय आमा समुहको समन्वयमा होमस्टे संचालन गर्ने तयारी गरेका छौँ ।’ भण्डारीले भन्नुभयो ।
अघिल्लो आर्थिक बर्षमा भवनको शौचालय, छानो मर्मत, झ्याल ढोका, रेलिङ र कोठामा रङ लगाउने काम भएको छ । यो आर्थिक बर्षमा पनि बाँकी रहेको मर्मत कार्यलाई पूर्णता दिएर होमस्टे संचालन गर्ने तयारी गरिएको हो ।
पर्यटकीय स्थल रुईसे, भेडी ओढार पुग्ने पर्यटकलाई लक्षित गरी रुईसेटोलमा होमस्टे संचालन गर्न लागेको वडाले जनाएको छ । ‘होमस्टे संचालनमा आएपछि यहाँका स्थानीयको आयआर्जनमा समेत टेवा पुग्ने अपेक्षा गरेका छौँ, गाउँका स्थानीय उत्पादनलाई समेत प्रोत्साहन हुन्छ ।’ वडा अध्यक्ष भण्डारीले भन्नुभयो ।
२०३८ सालमा निर्माण भएको भवनमा तत्कालिन समयमा वन कार्यालय रहेको थियो । वन कार्यालयलाई जिल्लामा तानिएपछि उक्त भवन अलपत्र थियो । गाउँमा आपत्विपत् पर्दा उक्त भवनलाई प्रयोग गरिदै आएपनि भवनको मर्मत सम्भारको काम भने हुन सकेको थिएन ।
प्रतिक्रिया