अमित विश्वकर्मा
म्याग्दीको धौलागिरी गाउँपालिका अमुल्य कला, संस्कृति, परम्परा र रीतिरीवाजले भरिपूर्ण पालिका हो । सदियौै वर्ष पुराना लोक संस्कृतिहरु यहाँका महत्पूर्ण पहिचान बनेका छन । अनेकन जातजाती, भाषा, भेषभुषा र रहनसहनले धौलागिरीलाई सिंगारेको छ । संसारकै सातौँ अग्लो शिखर धौलागिरी हिमाल अटल र अगम भएजस्तै यहाँका मौलिक लोक संस्कृति र परम्परागत संस्कारहरु पनि जीवन्त वनिरहेका छन ।
गुर्जा, मल्कवाङ, मलम्पार, मच्छिम लगायतका वस्तीका छन्त्याल समुदायको पुख्र्यौली, मुना, मुदी, खिवाङ, सिवाङ, काफलडाँडा, मराङ लगायतका वस्तीका मगर समुदायको पुख्र्यौली, ताकमको सयौँ वर्ष पुरानो राधाकृष्ण नाँच, ताकमकोतको महानवमी मेला, हिलापोखरीको पञ्चेबाजा, विभिन्न वस्तीहरुमा गाईने चुट्का भजन, सालैजो, शिरफुल, यानीमाया, सोरठी, रत्यौली लगायतका लोक संस्कृति यहाँका सांस्कृतिक धरोहर हुन ।
वडा नम्वर ३ मुनाको सोरठी जिल्लाकै उत्कृष्ट सावित भएको छ । ३ वर्ष अघि म्याग्दी महोत्सवमा आयोजित जिल्ला स्तरीय पुख्र्यौली प्रतियोगितामा मुना पुख्र्यौली समुहले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । पुख्र्यौली संरक्षणका लागि गतवर्ष गाउँपालिकाको आयोजनामा मुनामा सम्पन्न पुख्र्यौली नृत्य प्रतियोगितामा पनि सोही समुहनै विजयी बनेको थियो । मुना, मुदी, खिवाङ लगायतका गाउँहरुमा दलित र मगर समुदायका कलाकारहरु मिलेर नौमति बाजाको सुर र ताल भर्ने गर्दछन । संस्कृतिले जातीय सद्भाव पनि कायम गरेको छ ।

‘पुरपुराउ’ र ‘पुतवराही’ परम्परा
धौलागिरी गाउँपालिका अन्तर्गत मुदी, खिवाङ, काफलडाँडा, सिवाङ लगायतका क्षेत्रमा बसोबास गर्ने मगर समुदायमा पुस्तौंदेखि चलिआएको ‘पुरपुराउ’ परम्परा आज पनि जीवित छ । आधुनिक जीवनशैली र बसाइँसराइको प्रभाव बढ्दै गए पनि यो मौलिक संस्कारलाई समुदायले निरन्तरता दिइरहेका छन ।
पुरपुराउ विशेषगरी परिवारको जेठो छोरासँग सम्बन्धित संस्कार हो । यस अवसरमा जेठो छोरालाई पुख्र्यौली कुलदेवता र वंश परम्परासँग औपचारिक रूपमा जोड्ने धार्मिक तथा सांस्कृतिक विधि सम्पन्न गरिन्छ । जेठो छोराको पुरपुराउ गरेमा घरका सवै सन्तानहरुलाई राम्रो हुने, तिनीहरको भविष्य पनि उज्ज्वल बन्ने र घरमा पनि सुखशान्ति प्राप्त हुने मान्यता पुर्खादेखि नै रहदै आएको छ । पुरपुराउको समयमा त्यहाँको पुख्र्यौली, सोरठी गीत र नाँच मुख्य आकर्षणको रुपमा रहन्छ । पुरपुराउ दिन लागिएको घरमा गाउँका सवै आफन्तहरु गएर आफनो क्षमता अनुसार पैसा, अन्नपात समेत प्रदान गर्नुपर्ने चलन रहेको छ ।
त्यस्तै गुर्जा, मल्कावाङ, मलम्पार लगायतका क्षेत्रमा वसोवास गर्ने छन्त्याल समुदायको ‘पुतवराही’ पनि पुस्तौदेखि चल्दै आएको संस्कार हो । कुनै परिवारमा जन्मिएको जेठो छोरालाई मात्र पुतवराही दिइन्छ । असोजको शुल्क पक्षदेखि कार्तिकको पूर्णिमा तिथि भित्रमा जेठो छोराको उमेर विजोर वर्ष (३,५,७) पारेर पुतवराही दिईन्छ । पुतवराही घरको ज्येष्ठ सुपुत्रलाई कुलपित्रृ तथा वंशसंग जोडने विधि हो । यो अवसरमा हर्कवराईका साथ गाउँका सवै आफन्तहरु भेला भई छोरालाई आशिर्वाद तथा अभिभावकलाई फेटा गुथाएर बधाई ज्ञापन समेत गर्दछन ।
गुर्जाका सांस्कृतिक अध्येता दिप छन्त्यालका अनुसार पुतवराही छन्त्यालहरुको पुस्तौपुस्तादेखि चलिआएको महत्वपूर्ण संस्कार र परम्परा हो । गुर्जामा जेठो छोराको पुतवराही नगरेसम्म छेवार समेत गर्न नमिल्ने प्रचलन रहेको छ । धेरै परिवार रोजगारी, अध्ययन वा व्यवसायका कारण देशका विभिन्न सहर तथा विदेशमा बसोबास गरे पनि पुतवराही गर्ने बेला भने आफ्नो पुख्र्यौली गाउँ फर्कने चलन अझै कायम छ ।
आफन्त, गाउँका मान्यजन र समुदायका सदस्यहरूको उपस्थितिमा पूजा, आशीर्वाद तथा सामूहिक भेटघाट हुने भएकाले यो संस्कारले पारिवारिक र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउन मदत गरेको दिप छन्त्याल बताउनुहुन्छ । पुतवराहीको मुख्य भूमिका भने सोरठी समुहलाई रहन्छ । अघिल्लो रातनै पुतवराही दिने घरमा पुगेर कालीरात (रातभरि गीत गायर बस्ने ) चलन रहेको छ ।
सोरठी समुहद्वारा कुलपितृ तथा सवै देवि देवताहरु सम्झिदै गीतबाटै आशिर्वाद प्रदान गरि छोरा र घरपरिवारलाई समेत फेटा तथा फुलमालाले सम्मान गरिन्छ । त्यसपछि घरतर्फबाट पनि पुख्र्यौलीको सवै समुहलाई सम्मान प्रकट गरि नगद समेत प्रदान गरिन्छ । पुतवराहीको सवै विधिनै पुख्र्यौली सोरठीमा निहित रहेकाले यस संस्कृतिको पुस्तान्तरण महत्वपूर्ण रहेको छन्त्यालको भनाई छ ।
(स्थानीयभाषामा फरकफरक उच्चारणः कतै पुतवराहौ, पुतवराह, पुतवराही, पुत्र वराही, पुरपुराउ भन्ने गरिएको पाईन्छ)

ताकमको राधाकृष्ण नाँचः मौलिक सांस्कृतिक सम्पदा
वडा नम्वर ७ ताकमको राधाकृष्ण नाच यस क्षेत्रको सबैभन्दा पुरानो र मौलिक सांस्कृतिक सम्पदामध्ये एक हो । २००५ सालदेखि सुरु भएको यो नाँचले धार्मिक आस्था, लोकसंस्कृति र सामुदायिक एकतालाई एकैसाथ जोडेको छ । राधाकृष्ण नाच भजन–कीर्तन, गीत, संगीत र अभिनयको सुन्दर संयोजन हो । यसमा भगवान श्रीकृष्ण, राधा, शिव, पार्वती, गणेश लगायतका धार्मिक पात्रसँगै हास्य प्रस्तुत गर्ने पात्र (जोक्कर) पनि समावेश हुन्छन् ।
यस नाँचमा सबै भूमिका पुरुष कलाकारले नै निर्वाह गर्ने गर्दछन, यो परम्परा अझै पनि कायम छ । धार्मिक कथा, प्रेम, जीवनदर्शन र नैतिक सन्देशलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिने भएकाले यो नाच सबै उमेर समूहका दर्शकमाझ लोकप्रिय छ । पहिले हरितालिका तीजको अवसरमा मात्र अनिवार्य रूपमा प्रदर्शन गरिने यो नाच अहिले विभिन्न मेला, महोत्सव, सांस्कृतिक कार्यक्रम र सार्वजनिक समारोहमा समेत प्रस्तुत हुन थालेको ताकम धार्मिक नाट्य समुहका अध्यक्ष क्रृषिराम सुवेदीको भनाई छ । पछिल्ला वर्षहरूमा स्थानीय युवाहरूले ताकम धार्मिक नाट्य समूह मार्फत नयाँ पुस्तालाई यसको कला र सीप हस्तान्तरण गर्दै संरक्षण अभियानलाई थप सशक्त बनाएका छन ।

हिलापोखरीको बाजाः धुनै मिठो तालै राम्रो
धौलागिरी गाउँपालिका–७ हिलापोखरी परम्परागत नौमती (पञ्चे) बाजाको संरक्षण र निरन्तरताका लागि परिचित गाउँ हो । यहाँको नौमती बाजाले शुभकार्यमा रौनक थप्ने काम मात्र गरेको छैन, म्याग्दीको सांस्कृतिक पहिचानलाई देशका विभिन्न शहरसम्म पु¥याउने माध्यम पनि बनेको छ । जिल्लाभित्र मात्र होइन, पोखरा, काठमाडौं, चितवन लगायतका स्थानमा बसोबास गर्ने म्याग्देली समुदायबाट समेत “हिलापोखरीकै बाजा चाहिन्छ“ भन्ने माग आउने गरेको छ । यही लोकप्रियताले हिलापोखरीको बाजालाई जिल्लामै उत्कृष्ट नौमती बाजाका रूपमा चिनाएको छ ।
हिलापोखरी नौमती बाजा समूहका नेतृत्वकर्ता कुलप्रसाद परियार (रागी) का अनुसार यो कला बाउबाजेदेखि पुस्तान्तरण हुँदै आएको अमूल्य सम्पत्ति हो । परियार भन्नुहुन्छ “हामीले सिकाउन खोजेर मात्र होइन, सानैदेखि बाजासँगै खेल्दै हुर्किने भएकाले नयाँ पुस्ताले आफैँ सिक्दै जाने परम्परा छ”। यही कारणले गाउँमा आज पनि दक्ष कलाकारको अभाव छैन ।
हिलापोखरीको बाजाको अर्को विशेषता भनेको अवस्थाअनुसार छुट्टाछुट्टै ताल र राग प्रस्तुत गर्ने परम्परा हो । बेहुलाको घरमा पुग्दा घुर्को हान्ने ताल, रमाइलो सादा ताल, बेहुलाको घरबाट जन्ती निस्कँदा बजाइने विशेष ताल, जन्ती हिँड्ने ताल, बेहुलीको घर नजिक पुग्दा बजाइने ताल, जन्ती पर्सिने ताल, बेहुली अन्माउँदा बजाइने भावुक “बेहुली रुवाउने“ ताल तथा बेहुलीलाई लिएर फर्किने क्रममा बजाइने विदाइ ताल, नगरा मार्ने यी सबैको आफ्नै लय, राग र सांस्कृतिक अर्थ रहेको छ । यही विविधता नै हिलापोखरीको बाजालाई अन्य स्थानको बाजाभन्दा फरक र आकर्षक बनाउने मुख्य आधार हो ।
हिलापोखरी बाजा समुहका कलाकारमध्ये दुर्गा परियारको कला विशेष चर्चामा रहने गरेको छ । उहाँले दुईवटा कर्नाल एकैपटक बजाउने दुर्लभ सीप प्रस्तुत गर्नुुहुन्छ । यस्तो कला निकै कम कलाकारसँग मात्र हुने भएकाले जहाँ पुगे पनि उहाँको प्रस्तुतिको विशेष प्रशंसा हुने गरेको स्थानीयहरू बताउँछन् । कलालाई व्यवस्थित र दिगो बनाउन कलाकारहरूले हिलापोखरी नौमती बाजा समूह दर्ता गरी संस्थागत रूपमा सञ्चालन गर्दै आएका छन् । कार्यक्रममा बाजा बजाएर प्राप्त आम्दानीको केही हिस्सा समूहको कोषमा जम्मा गर्ने व्यवस्था गरिएको छ । सोही कोषबाट बाजाको संरक्षण, मर्मत तथा आवश्यक व्यवस्थापन गरिँदै आएको छ । बाजा र पोसाक खरिदमा वडा, स्थानीय समाजसेवी तथा कला प्रेमी व्यक्तिहरूले पनि सहयोग गर्दै आएका छन् ।
हिलापोखरीको बाजा समुहले विभिन्न जिल्ला स्तरीय पञ्चेबाजा प्रतियोगितामा प्रथम स्थान हासिल गरेर आफ्नो उत्कृष्टता प्रमाणित गरिसकेको छ । अग्रज कलाकारहरूका अनुसार तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहका छोरा युवराज दीपेन्द्र वीरविक्रम शाहको विवाह समारोहमा समेत हिलापोखरीको बाजा टोली सहभागी भएका थिए । यद्यपि यस विषयमा आधिकारिक अभिलेख उपलब्ध नभएकाले यसलाई स्थानीय अग्रजहरूको स्मरण र भनाइका रूपमा लिन सकिन्छ । हाल गाउँमा एकै समयमा दुईवटा बाजा टोली परिचालन गर्न सक्ने संख्यामा कलाकार तयार भइसकेका छन् । कलाकार ज्ञान परियारका अनुसार दक्ष जनशक्ति भए पनि बाजा, भेषभूषा तथा अन्य आवश्यक सामग्रीको अभाव अझै रहेको छ ।

संस्कृति संरक्षणमा गाउँपालिकाको सक्रियता
गाउँपालिका भित्रको परम्परागत मौलिक कला र संस्कृतिको संरक्षणमा गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रमहरु संचालन गर्दै आएको छ । पुख्र्यौली समुहलाई प्रशिक्षण तथा पोषाक, मादल लगायतका सामग्रीहरु उपलब्ध गराएको छ भने विभिन्न वडामा नौमति बाजा बजाउने तालिम प्रदान गर्नुका साथै बाजा समुहलाई पोषाक पनि उपलब्ध गराएको छ । ताकमको राधाकृष्ण नाँचलाई आवश्यक पर्ने पोषाकहरु उपलब्ध गराएको छ ।
उत्कृष्ट पुख्र्यौली समुहहरुलाई प्रोत्साहन स्वरुप नगद प्रदान गरिएको छ । पुख्र्यौली, सारेठीको प्रवर्धन गर्न अघिल्लो आर्थिक वर्षमा पालिका स्तरीय पुख्र्यौली प्रतियोगिता संचालन समेत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माको भनाई छ । उहाँका अनुसार वडा नम्वर ५ स्थित मल्कवाङमा छन्त्याल समुदायको भाषा र रहनसहन, संस्कार, संस्कृति लगायतका इतिहासलाई समेटेर पुस्तक तयार गर्न लागिएको छ ।
कला र संस्कृति गाउँपालिको अमुल्य निधि भएकाले सांस्कृतिक सम्पदाहरुको विकास र संरक्षणमा पालिकाले जोड दिएको गाउँपालिकाका अध्यक्ष प्रेम पुन बताउनुहुन्छ । गाउँपालिकाकै अमुल्य सम्पत्तिको रुपमा रहेको मौलिक कला र संस्कृतिको थप विकास गर्दै पर्यटन प्रवर्धन गर्ने नीति गाउँपालिकाले लिएको छ । स्थानीय भाषा, भेषभुषा, तथा लोक संस्कृतिलाई उजागरमा स्थानीय सरकारसंगै नागरिकहरु समेत अग्रसर हुनु आवश्यक छ ।

यो सामग्री गाउँपालिकाको फलोसिप लेखन कार्यक्रमका लागि तयार गरि प्रकाशन गरिएको हो ।
प्रतिक्रिया