logo
  • २९ भाद्र २०८३, सोमबार | Mon, 14 Sep 2026
  • म्याग्दीका सार्वजनिक यातायातमा नयाँ भाडादर कायम

    • myagdipress myagdipress
    • ३ आश्विन २०८२ शुक्रबार
    म्याग्दीका सार्वजनिक यातायातमा नयाँ भाडादर कायम

    म्याग्दी, ३ असोज । म्याग्दी जिल्लामा यात्रुवाहक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको अध्यक्षतामा बसेको जिल्ला अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको बैठकमा जिल्लाभित्रको पक्की, कच्ची सडकमा बस, जीप तथा ट्याक्सीको भाडादर निर्धारण कायम गरिएको छ ।

    समितिले म्याग्दी खण्डमा पर्ने बेनी–जोमसोम सडकखण्डमा प्रति किलोमिटर प्रति यात्रु बसभाडा १० रुपैयाँ, जीप भाडा १५ रुपैयाँ, बेनी–दरबाङ र बेनी–रत्नेचौर सडकखण्डमा बसमा प्रतिकिलोमिटर १० रुपैयाँ र जीपमा प्रति किलोमिटर १५ रुपैयाँ भाडा तोकिएको छ ।

    जिल्लाभित्रका सबै पक्की सडकमा प्रति किलोमिटर बसले १८ रुपैयाँ र जिपभाडा २५ रुपैयाँ लिन पाउने छन् । त्यसैगरी जिल्लाभित्रका सबै पक्की सडकमा यात्रुबाहक ट्याक्सीलाई प्रति यात्रु, प्रति किलोमिटर १७ रुपैयाँ र कच्ची सडकमा प्रति किलोमिटर ३० रुपैयाँ कायम भएको छ । त्यस्तै माथि तोकिएको प्रति किलोमिटर भाडादर बाहेक नगरपालिका र गाउँपालिकाभित्र रहेका ग्रामिण सडकको पक्की, ढलान सडकमा यात्रुले प्रति किलोमिटर बसमा यात्रा गर्दा १४ रुपैयाँ र जिप भाडा १८ रुपैयाँ तिनुपर्ने प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो ।

    ‘तोकिएको भाडादर सबै पालिकाले सवारीसाधन र यात्रुले देख्ने स्थानमा टाँस गर्नुपर्ने छ, हामीले पनि नियमित अनुगमन गर्नेछौ’ प्रजिअ तिवारीले भन्नुभयो । समितिको बैठकमा आगामी सातदिनभित्र स्थानीय तहले तोकिएको किलोमिटरको दरले आफ्नो क्षेत्रमा रहेका सवारी रुट सहित भाडादर उल्लेख गरी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालयमा पठाउने निर्णय भएको छ । यात्रुले आफुँले यात्रा गरेको किलोमिटरको आधारमा भाडा तिनुपर्ने, यातायात ब्यवसायीले अटेर गरेमा क्षमताभन्दा बढी यात्रु बोकेमा कानुनी कारवाहीका लागि सिफारिस गरिने छ ।

    बैठकमा मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन, धवलागिरी गाउँपालिका उपाध्यक्ष रेशम पुन, रघुगंगा गाउँपालिका उपाध्यक्ष प्रेममायाँ पुन,यातायात ब्यवस्था कार्यालय बागलुङकी प्रमुख गोमादेबी शर्मा, बेनी नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा यातायात ब्यवसायी लगायत सरोकारवाला निकायको उपस्थती रहेको थियो ।

    जिल्लामा कायम गरेको भाडादरमा यातायात व्यवसायिले समेत कार्यान्वयनमा प्रतिबद्धता जनाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यको संयोजकत्वमा भाडादर निर्धारण उपसमितिमा गठन भएको थियो । हालसम्म जिल्लाभर बि.स २०८० साल जेठ ५ गते तोकिएको भाडादर नै कायम रहेको थियो ।

     



    myagdipress myagdipress    
  • ३ आश्विन २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP