logo
  • २७ भाद्र २०८३, शनिबार | Sat, 12 Sep 2026
  • युवालाई खेलकुदमा आकर्षित गर्दै धौलागिरी गाउँपालिका

    • myagdipress myagdipress
    • १५ असार २०८३ सोमबार
    युवालाई खेलकुदमा आकर्षित गर्दै धौलागिरी गाउँपालिका

    अमित विश्वकर्मा
    म्याग्दीको धौलागिरी गाउँपालिकाले खेलकुद विकासका लागि पूर्वाधार निर्माणमा जोड दिएको छ । खेलाडी उत्पादनकालागि व्यवस्थित खेलमैदान निर्माण योजनालाई प्राथमिकतामा राखेको धौलागिरीले खेलकुदलाई युवाको समग्र विकाससंग जोड्दै अघि वढेको छ । विकट भौगोलिक अवस्थाका कारण खेलकुद पूर्वाधार विकासमा चुनौती भए पनि पालिकाले स्थानीय युवाहरुको आवश्यकता अनुसार खेलक्षेत्रमा लगानी गर्दै आएको छ । यसले स्थानीय युवामा खेलप्रति रुचि बढाउनुका साथै अनुशासन, नेतृत्व क्षमता र स्वस्थ जीवनशैली विकासमा सकारात्मक प्रभाव पारेको छ ।

    विशेष गरि भलिबल खेलनै लोकप्रीय खेलको रुपमा रहेको पालिकाका वस्तिहरुमा फुटवल, वास्केटवल र ताराखेल पनि खेलिन्छ । पछिल्लो समय युवा तथा प्रोढहरु व्याड्मिन्टन खेलतर्फ पनि आकर्षित भएका छन । आधुनिक खेलसँगै गाउँमा परम्परागत खेलहरूको संरक्षण पनि उत्तिकै महत्वपूर्ण छ । लठो तान्ने, छेलो हान्ने, दौड प्रतियोगिता, घैँटो फुटाउने लगायतका स्थानीय खेलहरू परम्परागत रुपमा संचालन हुदै आएका छन ।

    खेलकुदको विकासका निम्ती पालिकाले प्रत्येक वर्ष राष्ट्रिपति रनिङशिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता संचालन गर्दै आएको छ । विद्यालय स्तरमा खेल संस्कारको विकास तथा खेलाडी उत्पादन गर्न समेत यो प्रतियोगिताले महत्पूर्ण भूमिका निभाएको छ । पालिकाले आयोजना उक्त प्रतियोगितामा पालिकाभित्र संचालित विद्यालयहरुले उत्साहका साथ सहभागीता जनाउने गर्दछन ।

    भलिबल र एथ्लेटिक्स विद्याका विभिन्न खेलहरुले विद्यार्थीहरुको खेल कौशलसंग सम्वन्धीत अन्तरनिहित क्षमतालाई पहिचान र उजागर गर्न समेत सघाउ पुगेको छ । पालिका स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भई खेल क्षमता प्रदर्शन गर्ने अवसर समेत प्राप्त भएको छ । यसले ग्रामीण क्षेत्रमा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने अवसर सिर्जना भएकोछ । जिल्ला तथा प्रदेश स्तरीय प्रतियोगितामाहरु उत्कृष्ट खेल प्रदर्शन गरि पदक दिलाउने खेलाडीहरुलाई पालिकाले सम्मान गर्ने गरेको छ ।
    धौलागिरी गाउँपालिकाले खेलकुदलाई मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक एकता, स्वास्थ्य प्रवद्र्धन र युवाको क्षमता अभिवृद्धिको आधारका रूपमा लिएको छ । त्यसअनुसार गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै बजेट विनियोजन गर्ने अभ्यासलाई निरन्तरता दिएको छ ।

    स्थानीय स्तरमा हुने खेलकुद गतिविधिलाई सहज र व्यवस्थित बनाउन गाउँपालिकाले खेल पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । वडा नम्वर ७ ताकममा प्रदेश सरकारको १९ लाख र पालिकाको ९ लाख गरि कुल २८ लाखमा व्यवस्थित कभर्डहल निर्माण गरिएको छ । सो कभर्डल बनेपछि व्याडमिन्टनको जिल्ल्ला तथा राष्ट्रिय स्तरका खेलहरु समेत सहजै संचालन गरिएको वडा नम्वर ७ का वडा अध्यक्ष अशोक खत्री बताउनुहुन्छ । उक्त कभर्डहल निर्माण भएपछि योग अभ्यास संचालन गर्न समेत सहज भएको छ ।

    गाउँपालिकाको रु १५ लाख लगानीमा मुनामा कभर्ड हल निर्माण कार्य सुरु भएको छ । कभर्डहल निर्माण भएपछि व्याडमिन्टन, कवड्डी, कराते, टेक्वान्डो लगायतका खेलहरु संचालन गर्न सहज हुनेछ । मुनामा उच्च मालिका युवा क्लवको खेलमैदान विस्तार कार्य अन्तर्गत यो वर्ष रु ७ लाख ४० हजार बजेटबाट खेलमैदान सम्याउने, ग्याविन जाली लगाउने लगायतका कार्य भएको छ ।

    खिवाङमा अपर म्याग्दी हाईड्रोको लगानीमा ढलान र नालि सहितको व्यवस्थित खेलकुद मैदान निर्माण भएको छ । वडा नम्वर ५ को मलम्पार र भेडिखाल्टा, वडा नम्वर ३ को दर लगायतका स्थानमा पालिकाको लगानीमा यसअघि नै खेलकुद मैदान निर्माण भईसकेका छन ।
    वडा नम्वर २ लुलाङ र वडा नम्वर ४ को खाम्ला र खिवाङमा क्लवको खेलमैदान व्यवस्थापन भएको छ । मराङमा प्रगति युवा क्लवको सभाहल निर्माण भएको छ भने डाँफे युवा क्लवको भवन निर्माण तथा खेलमैदान व्यवस्थापनको कार्य सुरु भएको छ ।

    वडा नम्वर ७ को काफलडाँडा र धारापानीमा फुटवल खेल नै संचालन गर्न मिल्ने व्यस्थित खेलमैदान छन । पालिकाले गाउँगाउँमा खेलकुद पूर्वाधार निर्माणमा सघाएपछि स्थानीय स्तरमा खेलकुद गतिविधि संचालन गर्न सहज भएको प्रगति युवा क्लव मराङ अर्वाङका अध्यक्ष चक्र पुनले बताउनुभयो । उहाँका अनुसार भौतिक संरचना निर्माणले युवाहरुलाई खेलप्रति आकर्षित पनि गराएको छ ।
    गाउँपालिकाले विद्यालयमा पनि खेलकुद गतिविधि संचालनका लागि सहज होस भनि खेल मैदान व्यवस्थापन, स्तरोन्नति तथा खेलकुदका सामग्रीहरु पनि सहयोग गर्दै आएको छ ।

    लुलाङ आधारभूत विद्यालयमा खेल मैदान व्यवस्थापन तथा खेलकुद सामग्री प्रदान गरेको छ । सवै वडा कार्यलयले विद्यालयहरुमा आवश्यक खेल सामग्री उपलव्ध गराउदै आएका छन । विद्यालयहरुको खेलमैदान व्यवस्थापनको कार्यमा पनि पालिकाले निरन्तर सघाएको छ । गाउँपालिकाको वडा नम्वर २ मा पर्ने पर्यटकीय स्थल जलजला देखि ढोरपाटन सम्म म्याराथन दौड प्रतियोगिताका लागि बजेट विनियोजन गरेको भएतापनि यस वर्ष उक्त कार्यक्रम कार्यान्वयन हुन सकेन । पालिकाले आगामी आर्थिक वर्षमा जलजलामा पर्यटन प्रवर्धन गर्न दौड लगायत हाई अल्टिच्युटका खेलहरु संचालन गर्ने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा बताउनुहुन्छ ।

    विभिन्न वडाहरुमा चाडपर्व तथा अन्य अवसरहरुमा आयोजना हुने खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु सहितको मेला खेलाडी तथा कलाकार उत्पादन हुने थलो समेत हो । मुनाको दशैँ मेला, मुदीको तिहार मेला, मराङको बालाचतुर्दशी मेला, ताकमको तीज मेला, काफलडाँडाको वुद्धजयन्ती मेला यहाँका मुख्य मेलाहरु हुन । यसका अलवा प्रत्यक वडाको गाउँटोलहरुमा आ–आफ्नै परम्पराअनुसारको मेला, खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु संचालन हुने गर्दछ । यी कार्यक्रमहरुलाई पनि वडा तथा पालिकाले आर्थिक सहयोग प्रदान गरि खेलकुद र कला संस्कृतिको संरक्षणमा टेवा पु¥याएको छ ।

    ताकमकोतको ऐतिहासिक ठेलो फाल्ने खेल

    पालिकाको वडा नम्वर ७ स्थित ताकमकोतमा प्रत्येक वर्ष बडादसैंको महानवमी पर्वको अवसरमा आयोजना हुने ठेलो फाल्ने खेल पालिकाकै आकर्षणको रुपमा रहेको छ । उक्त ठेलो खेल प्रतियोगितामा भाग लिन तथा अवलोकन गर्नकै लागि पनि छिमेकी जिल्लाहरुबाट समेत दर्शकहरु आउने गर्दछन ।

    तत्कालीन थापा राजाका पालादेखि माल पहिचान गर्नका ठेलो फाल्ने प्रतियोगिता सुरु भएको अग्रजहरुको भनाई छ । त्यतिवेलादेखि चलेको ठेलो फाल्ने प्रतियोगिताले अहिले सम्मपनि निरन्तरता पाएको छ । ताकमकोतमा आयोजना हुने ठेलो फाल्ने प्रतियोगिता जितेर माल (पहलमान)को सम्मान पाउने यस क्षेत्रका युवाहरूको शोख नै हुने गरेको स्थानीय युवा कृष्णराज पौडेल बताउनुहुन्छ ।

    आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाइ सवैले भन्दा टाढा फ्याँकेर जित्ने माललाई सम्मान स्वरुप फेटा गुथाई काँधमा बोकेर गाउँ परिक्रमा गराउने तथा नगद उपहार दिने चलन छ । हाल सम्म लगातार ७ पटक र पछिल्लो २ पटक गरि ९ पटक सम्म ठेलो जित्ने वडा नम्वर ७ का ताकमका वडा अध्यक्ष समेत रहनुभएका अशोक खत्रीले गाउँमा मालको रुपमा पहिचान बनाउनुभएको छ ।

    भलिबल टिममा एकै घरका चार जना सदस्य

    फलियागाउँको एक भलिबल टिममा एकै घरका चार जना खेलाडी समावेश छन् । छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू नियमित खेल्ने खेलाडीहरु हुन । ४२ वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय नवीन र १७ वर्षीय केशव गोतामे परिवार भलिबल टिमका ४ खेलाडी हुन । परिवार बाहिरका दुई जना खेलाडीलाई थपेर विभिन्न ठाउँमा आयोजना हुने भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएका उनीहरू ‘घरपरिवार भलिबल’ समूहका नामले समेत परिचित बनेका छन ।

    बाबा सानैदेखि नै राम्रो भलिबल खेलाडी भएकाले हामी पनि खेल्न सिक्यौँ, अहिले हामी एउटै घरबाट ४ जना खेलाडी गेम खेल्न हिन्छौँ र खेल जितेका पनि छौँ, नरेशले भन्नुयो । नरेश धवलागिरि गाउँपालिकाको तर्फबाट प्रदेशस्तरीय भलिबल प्रतियोगितामा सहभागी समेत भईसक्नुभएको छ । उहाँको भाई केशवले जिल्लाकै खेलमा उत्कृष्ट सेटरको उपाधि जितेका छन ।

    खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको भावना जागृत गराउने मुख्य उद्धेश्यले प्रत्येक वर्ष विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना हुने गरेको यो नै पालिकाको ठुलो खेलकुद कार्यक्रम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माको भनाई छ । खेलकुद स्वस्थ समाज निर्माणको आधार हो । युवाहरुलाई सतमार्गमा हिडाउन पनि खेलकुदको भूमिका रहन्छ । धौलागिरी गाउँपालिकाले सीमित स्रोत–साधनका बाबजुद खेलकुदलाई प्राथमिकतामा राख्दै युवालाई सकारात्मक दिशामा अघि बढाउने प्रयास गरिरहेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन बताउनुहुन्छ ।

    पूर्वाधार विकास, नियमित प्रतियोगिता, प्रतिभा पहिचान र खेलाडी प्रोत्साहन कार्यक्रमलाई अझ सशक्त बनाउन योजना पालिकाको रहेको छ । युवा क्लवहरुसंग समन्वय गर्दै आवश्यकताका आधारमा पालिकाले गर्न सक्ने योजनाहरु पालिकातहबाट र ठुला योजनाहरुका लागि संघ तथा प्रदेश सरकारसंग पनि समन्वय गरिने गाउँपालिका अध्यक्ष प्रेम प्रसादको पनुको भनाई छ ।

    धौलागिरी खेलक्षेत्रमा प्रशस्त सम्भावना भएको पालिका हो । विद्यालय स्तरबाटै नियमित खेल प्रशिक्षण तथा क्लव स्तरीय प्रतियोगितात्मक खेलकुद गतिविधिले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निभाउदछ । व्यवस्थित खेलकुद पूर्वाधार निर्माणमा निरन्तरता, आवश्यक खेल सामग्री व्यवस्थापन, तालिम, प्रशिक्षण, खेलाडी सम्मान तथा प्रोत्साहनका कार्यहरुलाई प्रभावकारी बनाउदै जाने हो भने भलिबल, फुटवल, तथा एथ्लेटिक्स विद्यााका खेलाडीहरुले पालिकाको गौरव वढाउन सक्दछन ।

     



    myagdipress myagdipress    
  • १५ असार २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP