logo
  • ११ श्रावण २०८३, सोमबार | Mon, 27 Jul 2026
  • साउन महिनाको पहिलो सोमबार गलेश्वरमा भक्तजनको लहर

    • myagdipress myagdipress
    • ५ श्रावण २०८२ सोमबार
    साउन महिनाको पहिलो सोमबार गलेश्वरमा भक्तजनको लहर

    म्याग्दी, ५ साउन । म्याग्दीको प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालयमा आज बिहानैदेखि श्रद्धालु, भक्तजनहरुको लहर छाएको छ ।
    बेनी नगरपालिका–९, गलेश्वरमा रहेको गलेश्वर शिवालयमा यसवर्ष साउन महिनाको पहिलो सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट आएका भक्तजनहरु पूजाआजाका लागि आएका हुन ।

    म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन, दाङ, सल्यान काठमाडौंलगायत जिल्लाहरुबाट गलेश्वर शिवालयको दर्शन तथा पूजाआजा गर्न भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले जानकारी दिनुभयो । यस वर्षको साउनमा ४ वटा सोमबार परेको छ । उक्त समयमा गलेश्वर आउने भक्तजनहरुलाई पूजापाठका लागि सहज बनाउन विभिन्न २३ वटा उपसमिति गठन गरिएको छ ।

    भिडभाडमा हुन सक्ने चोरी लगायतका घटनालाई मध्यनजर गर्दै आवश्यक सुरक्षाको समेत व्यवस्था गरिएको छ । महिला दिदीवहिनीहरुलाई वहुमुल्य गरगहनाहरु नलगाई आउन सूचित गरिएको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो । गाउँघरमा खेतीपातीको काम सकिएको, आज एकादशी वर्त परेको र मौसम पनि सफा रहेकाले गलेश्वर दर्शनका लागि आउन सहज भएको भक्तजनहरुको भनाई छ । तातोपानी कुण्ड व्यवस्थापन समितिले गलेश्वरमा पहिलो पटक आज दिव्य आरती समेत गरेको छ ।

    साउन महिनालाई भगवान् महादेव (शिव)को प्रिय महिनाको रुपमा पनि लिने गरिएको पाइन्छ । आजको दिन हिन्दु महिलाहरू ब्रत बस्ने र शिव मन्दिरमा पुगेर पुजाअर्चना गर्ने गर्दछन् । साउन महिनामा शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

    सोमबार ब्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास भएकाले महिलाहरू बिहानै शिवालय मन्दिर पुग्ने गर्दछन् । गलेश्वर शिवालयमा पछिल्लोपटक ११ वटा गौमुखी धाराहरु जडान गरिएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर पवित्र कालीगण्डकी नदीको गङ्गाजलले गौमुखी धारामा स्नान गर्ने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि हुँदै गएको छ ।

    पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास छ । मन्दिरमा सङ्कलित भेटी पूर्वाधार विस्तार, कर्मचारी परिचालनलगायत विभिन्न धार्मिक कार्यमा खर्च गर्ने गरिन्छ । सत्ययुगमा सतीदेवीले अग्नीकुण्डमा हाम फालेर देहत्याग गरेपछि उनको मृत शरिर बोकेर शिव महादेव पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वरमा आएर गलापतन भएपछि गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थ र पुराणहरुमा उल्लेख छ ।



    myagdipress myagdipress    
  • ५ श्रावण २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP